×

वीरगञ्ज । वीरगञ्जस्थित नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सञ्चालन गर्दै आएको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) मा सफ्टवेयर जडान गर्दै मोबाइल एप पनि सञ्चालनमा ल्याइएको छ। सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई थप व्यवस्थित, पारदर्शी, र अत्याधुनिक बनाउन यो पहल गरिएको हो।

सो सफ्टवेयर र मोबाइल एपको उद्घाटन रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कंडेलले गरे। उनले नयाँ प्रणालीले रक्त सञ्चार सेवा र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै वीरगञ्जमा रगत व्यवस्थापनका लागि क्रियाशील ४–५ सयभन्दा बढी संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको भन्दै धन्यवाद दिए। उनले सफ्टवेयर र मोबाइल एपले रगत व्यवस्थापनलाई सहज बनाउने बताए।

रक्त सञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार यो सफ्टवेयरले रक्तदान सम्बन्धित सम्पूर्ण डाटाबेसको व्यवस्थापन गर्नेछ। साथै, रक्तदातालाई धन्यवाद ज्ञापन, जन्मदिनमा शुभकामना दिने एसएमएस नोटिफिकेसन, स्वचालित बिलिङ प्रणाली, र बिल प्रिन्ट गर्ने सुविधा प्रदान गरिनेछ।

सफ्टवेयरमा व्यक्तिगत प्रयोगकर्ताका लागि युजरनेम र पासवर्डको व्यवस्था गरिएको छ। यसबाट प्रयोगकर्ताले ल्याब रिपोर्ट, डोनर कार्ड, सर्टिफिकेट, र नगद भौचर इमेलमार्फत पठाउन तथा प्रिन्ट गर्न सक्नेछन्। रगतको म्याद सकिने (एक्सपायरी) व्यवस्थापन, अनलाइन पहुँच, निरीक्षण र नियन्त्रणको सुविधा पनि उपलब्ध छ।

मोबाइल एपमार्फत रक्तदाताहरूले आफ्नो व्यक्तिगत विवरण, डोनर कार्ड, र सम्बन्धित पालिकामा रहेका अन्य रक्तदाताहरूको नाम र सम्पर्क विवरण हेर्न सक्नेछन्। पाण्डेले सफ्टवेयर र मोबाइल एपले रक्त सञ्चार सेवालाई डिजिटलाइजेसनतर्फ लैजाने र सेवा उपयोगमा सहजता ल्याउने जानकारी दिए।

रक्त सञ्चार सेवामा यस किसिमको प्रविधि प्रयोगले वीरगञ्जका नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्दै रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Back to top