वीरगञ्ज । सामाजिक सञ्जालमा हाल एक महिलाले एकै पटकमा छ बच्चा जन्माएको दाबी गर्दै गरिएको पोस्ट भाइरल भइरहेको छ । फेसबुकमा “मुगु”, “कर्णाली”, र “छ ओटा बच्चा” जस्ता कीवर्डहरू खोज्दा एउटै फोटो र समान शैलीका क्याप्सनसहितका पोस्टहरू भेटिन्छन् ।
यी पोस्टहरूमा घटना कर्णाली प्रदेशको मुगु जिल्लामा भएको बताइन्छ। केहीले यसलाई कर्णाली प्रदेशको मुगु भन्ने गरी लेखेका छन् भने अरूले मुगु जिल्लामा भएको घटना भनी उल्लेख गरेका छन् ।
नेपालको सूचना प्रविधि समाचार प्रकाशक टेकपानाले यो दाबीको सत्यता पत्ता लगाउन अनुसन्धान गरेको छ । यस क्रममा जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी विभाकर मिश्रसँग गरिएको कुराकानीले यो समाचार भ्रामक भएको पुष्टि गरेको छ । मिश्रले भने, “धेरैले मुगुमा एउटा महिलाले एकै पटकमा छ बच्चा जन्माएको भनेर पोस्ट गरिरहनु भएको रहेछ, तर यस्तो कुनै घटना मुगुमा भएको छैन ।”
गुगल रिभर्स इमेज सर्च गर्दा यो दाबीको स्रोत तीनवटा भिडिओ पोस्टमा आधारित भएको पाइयो । ती भिडिओहरू एउटै देखिन्छन् र ती रनालर डट एआई (Ranalar.ai) नामक टिकटक आइडीमा अपलोड गरिएका हुन् । भिडिओमा देखिने स्वास्थ्यकर्मीको गतिविधि अस्वाभाविक रहेको र उक्त सामग्री मनोरञ्जनका लागि तयार गरिएको स्पष्ट उल्लेख गरिएको छ ।
टेकपानाले जाँच गरेका विभिन्न एआई उपकरणहरूले पनि यो तस्बिर फेक भएको प्रमाणित गरेका छन् । यसरी, कर्णाली प्रदेशको मुगुमा महिलाले छ बच्चा जन्माएको भनी गरिएको दाबी झुटो र भ्रामक रहेको पुष्टि भएको छ ।
सोसल मिडियामा यस्ता अफवाहलाई सत्य मान्नुअघि प्रमाणको खोजी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
