सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–२ स्थित जयपुर गाउँको श्री आधारभूत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको कार्यशैलीविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् ।
विद्यालय व्यवस्थापनमा देखिएको अनियमितता र शिक्षकहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै स्थानीयले बुधवार विद्यालयका शिक्षकहरूलाई अफिस कोठामा थुनेर बाहिरबाट ताल्चा लगाएका छन् ।
प्रधानाध्यापक गर्भु महतोमाथि विद्यालय व्यवस्थापन समिति गठन नगरी आफूखुसी निर्णय गर्ने, विद्यार्थीका लागि प्राप्त सुविधाहरूमा हिनामिना गर्ने र शिक्षासम्बन्धी स्रोत र साधनको सही सदुपयोग नगरेको आरोप लगाइएको छ ।
स्थानीयहरू बुधवार बिहान १० बजे विद्यालयमा भेला भएका थिए । प्रधानाध्यापक महतो विद्यालयमा अनुपस्थित रहेको भन्दै आक्रोशित स्थानीयले उपस्थित शिक्षकहरूलाई अफिस कोठामा थुनेर ताल्चा लगाएका हुन् ।
विद्यालयमा विभिन्न सङ्घ–संस्थाबाट उपलब्ध गराउन आएका सामग्रीहरू शिक्षकहरूले लक्षित विद्यार्थीलाई वितरण नगरी आफैँ राखेको आरोप पनि स्थानीयले लगाएका छन् । यसै विषयलाई लिएर प्रधानाध्यापकलाई पटक–पटक सम्पर्क गर्दा पनि विद्यालयमा उपस्थित नभएपछि बाध्य भएर यस्तो कदम चालेको स्थानीय अभिभावकहरूले बताएका छन् ।
शिक्षकहरूलाई अफिसमा थुनेर ताल्चा लगाएपछि स्थानीयको आक्रोशलाई मत्थर बनाउन गोडैता नगरपालिका–२ का वडाध्यक्ष अजय साह विद्यालय पुगेका थिए । उनले समस्या समाधानका लागि पहल गरे पनि प्रधानाध्यापक महतो विद्यालय नआएकाले स्थिति यथावत् रहेको छ ।
स्थानीयले छात्रवृत्ति, दिवा खाजा, र अन्य सुविधासम्बन्धी रकम हिनामिना गरिएको र अभिभावकहरूले हिसाब–किताब माग्दा पनि प्रधानाध्यापकले बेवास्ता गरेको गुनासो गरेका छन् ।
वडाध्यक्ष साहले स्थानीयसँग वार्ता गरेर समस्या समाधानका प्रयास गरिरहेको र विद्यालयको व्यवस्थापनमा सुधारका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीयहरूको आक्रोश र प्रधानाध्यापकको अनुपस्थितिले विद्यालयको समस्या झन् जटिल बन्दै गएको छ । वडाध्यक्षको पहल र स्थानीयको सक्रियताले विद्यालय व्यवस्थापनमा सुधार हुने अपेक्षा गरिएको छ ।