×

मानव शरीर मात्रै शारीरिक संरचनाको स्वरुप होइन । शरीरलाई एउटा साधनको रुपमा भने पक्कै मान्न सकिन्छ । शरीर पुर्ण बन्न मानसिक स्थितीले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । तर आजभोली धेरै जना मानसिक रुपमा अस्वस्थ भएको आभाष हामीले गरीरहेका छौँ । हामीलाई थाहा छ, “राम्रो स्वास्थ्य हुनुभन्दा अरु सुख यो संसारमै छैन ।“ त्यसैले त भनिन्छ नी, “मानसिक स्वास्थ्य बिना केवल शारिरीक स्वास्थ्यको परिकल्पना गर्नु अधुरो जस्तै हुन्छ ।”

समाजमा आजभोली भइरहेका विभिन्न घट्नाहरुले पनि व्यक्तिहरुको मानसिक स्वस्थताको अवस्थालाई प्रष्टै दर्शाउछ । कतिपय अवस्थामा झट्ट देख्दा सामान्य लागेका व्यक्ति पनि मानसिक रुपमा असामान्य हुन सक्छन् । मानसिक रोगको सिकार बनाउने थुप्रै कारणहरु छन्, जसमध्ये अभाव पनि एउटा प्रमुख हो । फेरी यति भन्दैमा सम्पन्नहरु मानसिक रुपमा स्वस्थ हुन्छन् भन्न कदापी खोजिएको हैन । आर्थिक, शारिरीक, सामाजिक तथा हरेक हिसाबले सक्षम देखिएका धेरैजसो व्यक्तीहरु पनि मानसिक रुपमा गलेको मेरै आँखाले देखेकी छु ।

आफ्ना पिर ब्यथा, अभाव र कष्ट सबैलाई ठुला लाग्छन् तर बाहिर निस्केर हे-यौँ भने आफु भन्दा कमजोर पनि आसपासमा भेट्छौ । यो पाटो त हामीले उनीहरुले नभनेसम्म जानेकै हुँदैनौ । यसो भन्दैमा समस्याहरुमाथी चीन्तन नै नगर्ने भनेको होइन तर अनावश्यक चीन्ता चै कम गर्नै पर्छ । दुख र समस्याले गलाउने हैन, अझै मजबुत बनाउँछन् भन्ने बुझाईलाई आत्मसाथ गर्न जरुरी छ ।

मानसिक समस्या हाल जटिल प्रकृतीकै रोगको रूपमा विकास भैरहेको छ । यसका कारण अनेकौ होलान् तर एउटा महत्वपुर्ण कारण हामी आफै पनि हौं । हामीले हाम्रो खुशी र दुखको जीम्मा अरुलाई दिन्छौ र आफु खुशी अनी दुखी हुनुको कारण पनि अरुलाई नै मान्छौ । वास्तवमा यो त गलत रहेछ, मिथ्या रहेछ । तपाई बाहेक तपाईलाई राम्रोसँग बुझ्ने यो सृष्टीमा अरु कोहि छैन । तपाईको मन शान्त छ भने कसैको आँट पनि हुदैन कि तपाईको मनको शान्ती भङ्ग गर्ने ।

सर्वप्रथम आफै बलीयो हुनुपर्छ । शारिरीक र मानसिक दुबै रुपमा । भनिन्छ नि,“व्यक्तिको मानसिक अस्वस्थताको बिउ उसको विचारमा नै निहित हुन्छ ।” हो हाम्रो बिचारलाई चलाउने चालक हामी आफै हौँ । आफ्ना बिचारहरुमा त आफुले नियन्त्रण गर्न सक्छौँ नि । अरुले गर्ने व्यवहारमा नियन्त्रणको अधिकार हामीलाई छँदै छैन । यसो सोचौ तः कष्ट कसलाई हुँदैन ?, को मानिस रोगी छैन ?, समस्या कसलाई छैन होला ?, पीर नपरेको को होला ?, अवहेलना नसहेको को होला ?, एकै पटकमा सफल को भएको छ ?, तपाई एकदमै निडर र आत्मवीश्वासी हुनुहुन्छ (हुनुहुन्न भने पनी आँखा चिम्म गरेर विश्वास गर्नुस् आफैमा । म एक स्वस्थ, सफल र आत्मबिश्वासी व्यक्तीको रुपमा स्थापीत हुँदैछु भनेर) ।

यसै पनि तपाई एउटा साहसी व्यक्ति भएकाले यस्ता समस्या र भोगाईबाट झन् बलीयो हुने हो, कमजोर पटक्कै होइन । अर्को कुरा यो जीवन तपाईको लागी अत्यन्तै मुल्यवान छ, त्यत्ति अरुको लागी पक्कै छैन । हामी अरुले आफुलाई भनेको कुरा, गरेको व्यवहारले आफुमाथी नकारात्मक प्रभाव पारिरहन्छौ । मलाई एकजना आदरणीय व्याक्तित्वले भन्नुभएको थियो कि , “जो सँग जे छ त्यहि दिन्छ । उ सँग प्रेम गर्ने सामर्थ्य छ भने सप्रेम व्यवहार पस्किन्छ, रिस छ भने रिस दिन्छ, घृणा छ भने घृणा दिन्छ, शब्द पनि दिने साहस छैन भने मौनता पस्किन्छ, डाहा गर्ने क्षमता छ भने व्यवहारमा सोहि अनुसारको प्रस्तुती देखाउछ, फुल भए फुल दिन्छ, काँडा भए काँडा दिन्छ, केहि नभए शुन्यतालाई मित्र बनाउछ अनी फेरी मौनता पस्किन्छ ।”

उनिहरुसँग हुँदै नभएको चीजको हामिले अपेक्षा नराखेकै ठिक । अरु खराब भए भनेर आफुले पनि खराब व्यवहार देखाउनु त फेरी अर्को मुर्खता हुन जान्छ । जीवनमा सबै तपाईले सोचेजस्तै परिस्थिती भैदियो भने, अपेक्षा अनुसारको साथ पाउँदै जानुभयो भने प्रेम मात्रै पाउनुभयो भने तपाई जती कमजोर कोहि हुँदैन । तपाईले गरेको दुख, पाएको फरक व्यवहार, घृणा, तीरस्कारले तपाईलाई नै झन् बलियो बनाउछ ।

मुटुको इ.सी.जी गर्दा चालमा उतारचढाब आएको अवस्था मुटुको सामान्य अवस्था हो । इ.सी.जी मा आएको सिधा रेखाले त मृत्यु बुझाउछ र मृत्यु पछिको जीवन असम्भव छ, अनी बिना जीवन यस्ता कुरा भोग्न सकिदैन । नभोगेपछी समस्या नै आउँदैन । चीन्ता र चीन्तनका कुरै आउँदैन । बाँकि कुरा आफै बुझ्नुस । यसो भनिरहदा बरु मलाई के लाग्छ भने, म आफै बरु अरुबाट अन्याय सहन र भोग्न तयार छु किनभने त्यो मेरो बसमा नभएको कुरा हो तर भुलबस पनी मेरो तर्फबाट अरुलाई अन्याय कदापी नहोस्, यत्ती चै म गर्न सक्छु । यो मेरो बसको कुरा हो ।

“यस्ता वीचार सुनेपछि म माथि फरक व्यवहार गर्ने प्रती दयाभाव पलायर आयो । अनी मनमनै सोचे “उनिहरुसँग जे थियो त्यहि दिए ।” यसमा मैले आफुलाई कमजोर बनाउनुपर्ने, आफैले आफैलाई दोष दिने कारणहरु कम भेट्न थाले । नराम्रो भावना र कर्मको बीचारसम्म पनी अरुप्रति नराखेपछि एउटा मानसीक सन्तुष्टि मिल्ने रहेछ, जुन बडो आनन्दको हुन्छ । एक महापुरुषको वाणी छ –“मागेमा तिमिलाई मिल्नेछ, घच्घच्याएमा द्वार तिम्रो लागि खुल्नेछ, खोजेमा तिमीलाई प्राप्त हुनेछ ।”

मानवरुपी चोला नै भाग्यले पाएका हामीले आफुभीत्र भएको खुशी र आनन्द खोज्नै सकेका हुँदैनौ । खोजौ, आफुभित्र भएको आनन्दलाई अनी खुशी बनौ । दुख छरपस्ट छन् सुख र खुशी खोज्नुपर्छ, तर हामीलाई त चीन्तामा असाध्यै रमाइलो लाग्छ, मागेजस्तै गरेर चीन्ताको मार्गमा बारम्बार हिड्छौं । सोहि कुराको मात्रै अभाव भएझै घच्घच्याउछौं । अनी खोजीखोजी त्यही चीन्ताको खाडलमा अझ भनौ ‘ओभरथिङ्कीङ्ग’ मा हराउन चाहान्छौ ।

तत्पश्चात बीचरा हाम्रो अवचेतन मन अनी ब्रमाण्डले शरीरको लागी यसैको आवश्यकता रैछ भनेर त्यसै अनुसारको वातावरणको सृजना गरिदिन्छ । यो अवस्थासम्म हामीले सही र गलत के हो ? सोच्नै सक्दैनौ । एउटै समस्याले पनि बारम्बार घच्घच्याइरहन्छ, कुनै वेला त सो समस्या समाधान भैसकेको हुन पनि सक्छ । तर त्यै समस्यालाई सोचेर हामीले आफ्नो मानसीक अवस्था कमजोर बनाइरहेका हुन्छौ ।

हाम्रो मानसीक अवस्था र अधीकांश शारीरिक समस्याको सुत्रपात पनी धेरै विचारबाटै निर्देशित हुन्छ । विचारको महिमा अतुलनिय छ । सद्विचारले हामी जस्तोसुकै बन्धनमुक्त पनी हुन्छौ भने दुर्विचारले हामी मानसीक रोगको सिकार सँगै शारीरिक अस्वस्थताको दलदलमा फस्छौ । त्यसैले राम्रो स्वास्थ्यका लागि सद्विचार र सकारात्मकता अपरिहार्य छ ।

यो जीवन मुल्यवान छ । हाम्रो जीवन सङघर्ष अनी उन्नती प्रगतीको लागि बनेको हो र डर अनी कायरतापुर्ण विचार र व्यवहार हामीलाई कुनै पनि दृष्टिकोणले सुहाउँदैन । हामीले सदा एउटा कुरा के स्मरण राख्नु पर्छ भने निराशापन र आफैले निम्ताएको अस्वस्थता एक प्रकारको कर्मप्रतीको नास्तिकता भाव हो । समस्या र अस्वस्थता दुबै हामीलाई बलीयो बनाउन आउने रहेछन्, ना कि कमजोर । जस्तो अवस्थामा पनी आत्म–विश्वासलाई मुल मन्त्र बनाएर चल्नु पर्छ ।

अन्त्यमा, मनुष्यले हरेक चीज एउटा समस्याको रुपमा लिन्छ । जस्तो कि – गरीब छ गरीब हुनुमा दुखी छ, धनी छ कर तिर्नुमा दुखी छ । पढाईलेखाई छैन त्यसैमा दुखी छ, स्कुलमा पढ्न पठायो फेरी पढ्नको दुख । मृत्युदेखी दुखी छ तर जीबन जिउनका लागी दुख गर्न तयार छैन । वास्तवमा जीवन एक शानदार प्रकृया हो । फरक यत्ती हो कि जीवनरुपी घोडामा हामी कुल्चीने कि सवार हुने ।

मानसपटलमा के कुरा चलाउने के नचलाउने त्यो हाम्रो अन्तरमनले निर्धारण गरेर जीवनको प्रकृती अनुसार चल्नुपर्छ । मानसीक अवस्था बिग्रनुमा दुई वटा मुख्य कारण हुने देखियो । साधारणतया एउटा आफ्नै कारणले, अर्को अर्काकै कारणले । आफ्नै कारणबाट सृजना भएको मानसीक अस्वस्थतामा आत्मविश्वास र सकारात्मक सोचाइको उर्जा हरदम बनाईराख्नु पर्ने देखीयो ।

यदि अर्काको कारणले हजुरको मानसीक अवस्था कमजोर भएको हो भने त्यो हजुरको समस्या होइन, किनकि उनिहरुसँग जे थियो त्यहि दिए भन्ने आफ्नै बिबेकको प्रयोग नै उपयुक्त हुने देखीयो । बुद्दिमान मानिसले आफ्ना योग्यताहरु, राम्रा गुणहरु साथै साहसका बारेमा सँधै चिन्तन गर्नुपर्छ तर घमण्ड चै पटक्कै गर्नुहुदैन । आफ्नो जीवनप्रति आभारी हुनुहोस् । किनकी यहाँ जन्म हाम्रो चाहानाले भएको होइन, यो त लेखीएको कुरा हो ।

त्यसैगरी नै दुख, अभाव र समस्याहरु पनी जीबनसँग गासीएर आएका पर्यायबाची पक्ष हुन्, जसले हामिलाई बलीयो बनाउछ । जीवनका यीनै पक्ष सोचेर अघी बढ्यौं भने हामीमा भएको अथाह शक्तीलाई समयमै चीन्न सक्छौ र मानसीक स्वास्थ्यको उर्जालाई सधै सकारात्मक बनाउन सकिन्छ । अनी अर्को महत्वपुर्ण कुरा अधीकार खोज्नु अघी कर्तव्य पुरा गरौ, कोहिबाट धेरै अपेक्षा नराखौ । अपेक्षाले हामीलाई दुखी बनाउने रहेछ ।

जीवन अमुल्य छ, यसलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो मानसीक स्वास्थ्यको अवस्थाले धेरै प्रभाव पार्ने रहेछ । यसलाई बुझेर अघी बढेमा पक्कै काँडाहरुको बिचमा पनी वास्तविक रुपमा मुस्कुराएर हिड्ने क्षमता हामीभीत्रै रहेछ भन्ने कुरा बुझीन्छ ।

Back to top