रौतहट । रौतहटको परोहा नगरपालिका वडा नं. ८ नरकटिया गाउँमा माघ २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको “मुल्किए इस्तेमा” धार्मिक कार्यक्रममा रोक लगाइएको विषयमा समाजवादी मुस्लिम संघ नेपालले गम्भीर आपत्ति जनाएको छ।
सम्बन्धित कार्यक्रमको लागि जिल्ला प्रशासन कार्यालय गौरमा इजाजत लिन जाँदा प्रशासनले अनुमति नदिने निर्णय गरेको जानकारी पछि समाजवादी मुस्लिम संघ नेपाल, मधेश प्रदेशले विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति असन्तोष व्यक्त गरेको हो। संघका वरिष्ठ उपाध्यक्ष कौसर खानद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल संविधानअनुसार मुलुक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको उल्लेख गर्दै मुस्लिम समुदायको धार्मिक स्वतन्त्रता र मौलिक अधिकारमाथि आँच आउने कार्य आपत्तिजनक रहेको ठहर गरिएको छ।
विज्ञप्तिमा “मुल्किए इस्तेमा” मुस्लिम समुदायको धार्मिक परम्परा, रीतिरिवाज र सामाजिक-शैक्षिक गतिविधिसँग सम्बन्धित एक महत्वपूर्ण कार्यक्रम रहेको उल्लेख गर्दै सो कार्यक्रमलाई रोक्नु संविधान प्रदत्त मौलिक हकको हनन भएको भन्दै गहिरो चिन्ता व्यक्त गरिएको छ।
राज्य कुनै पनि व्यक्ति, जात, धर्म वा समुदायको मात्रै नभई सबै नेपालीको साझा थलो रहेको स्मरण गराउँदै संघले सरकारलाई “मुल्किए इस्तेमा” कार्यक्रम रोक लगाउने निर्णय पुनर्विचार गर्न र सो कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउन आग्रह गरेको छ।
समाजवादी मुस्लिम संघले सम्बन्धित सबै पक्षलाई धार्मिक स्वतन्त्रता जस्तो संवेदनशील विषयमा गम्भीर भएर विचार गर्न र नागरिक अधिकारको सम्मान गर्न अनुरोध गरेको छ।