×

रौतहट । जिल्लाको परोहा नगरपालिकाले धुवाँमुक्त नगर अभियानअन्तर्गत निःशुल्क एलपी ग्यास चुल्हो र सिलिन्डर वितरण गरेपछि स्थानीय बासिन्दामा हर्ष छाएको छ ।

परोहा-४ स्थित प्रहरी चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरपालिकाको वडा नम्बर ४, ५ र ६ का २७०० घरपरिवारलाई आइतबार र सोमबार ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको हो ।

नगरप्रमुख शेख वकिलको नेतृत्वमा सञ्चालन भएको अभियानले स्थानीय स्तरमा ठूलो प्रभाव पारेको छ । उनले चुनावताका नागरिकलाई दिएको ग्यास चुल्हो र सिलिन्डर उपलब्ध गराउने वाचालाई पूरा गर्दै यस अभियान अघि बढाएको बताए । 

प्रमुख वकिलले भने, “भोट माग्न जाँदा धेरै महिलाले ग्यास चुल्हो र सिलिन्डरको माग गर्नुहुन्थ्यो । मैले त्यस वाचालाई पूरा गर्दै प्रत्येक घरपरिवारमा ग्यास चुल्हो पुर्‍याउने लक्ष्य लिएको छु ।”

नगरपालिकाको नीति तथा कार्यक्रममा पारित योजनाअनुसार करिब ८ हजार घरपरिवारलाई निःशुल्क ग्यास चुल्हो र सिलिन्डर वितरण गरिनेछ । कार्यक्रमले परम्परागत इन्धन (दाउरा, कोइला, गुइँठा) प्रयोग गर्ने ग्रामीण बासिन्दालाई धुवाँ-धुलोबाट हुने स्वास्थ्य समस्या कम गर्न, समयको बचत गर्न, तथा महिलाको आत्मसम्मान अभिवृद्धि गर्न योगदान दिने लक्ष्य लिएको छ ।

कार्यक्रमले आर्थिक रूपमा विपन्न परिवारलाई विशेष लाभ पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रमुख वकिलले भने, “धुवाँ धुलोबाट हुने स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्ने र सरसफाइयुक्त इन्धनको पहुँच विस्तार गर्न यो अभियान प्रभावकारी हुनेछ ।”

ग्यास चुल्हो वितरणपछि स्थानीय नागेन्द्र पटेलले वर्षौँदेखि दाउरा र रुखका पातहरूमा खाना पकाउन बाध्य भएका आफूहरूलाई अभियानले ठूलो राहत दिएको बताए । धुवाँ-धुलोबाट उत्पन्न रोगहरू पनि अब कम हुने आशा रहेको पनि उनले विश्वास व्यक्त गरे । त्यस्तै अर्का स्थानीय समाजसेवी जोगी सहनीले महिला दिदीबहिनीको स्वास्थ्य र जीवनस्तर सुधारमा यो कदम प्रभावकारी हुने बताए ।

वरिष्ठ इन्जिनियर दीपेन्द्र यादवका अनुसार, कार्यक्रमले आगलागी न्यूनीकरण र वन विनाश रोक्न समेत महत्त्वपूर्ण योगदान दिने छ ।

कार्यक्रममा स्थानीय नेताहरू, वडाध्यक्ष, नगरपालिका कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

मेयर शेख वकिलको प्रयासले परोहा नगरपालिकाका जनतालाई धुवाँरहित वातावरणमा जीवन बिताउन अभिप्रेरित गर्दै गाउँ-घरका महिला र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

Back to top