×

गहुँ नेपालको तेस्रो मुख्य खाद्यान्न बाली हो र यो मुख्यतया तराई र पहाडी क्षेत्रमा जाडो मौसममा लगाइन्छ तर जाडोमा अत्यधिक चिसोका कारण तापक्रम १५ डिग्री सेल्सियस भन्दा तल झर्दा गहुँका तल्लो पातहरू पहेँलो हुनु सामान्य समस्या हो। यो अवस्थामा पातले प्रकाश संश्लेषण कम गर्छ र बिरुवाको वृद्धिमा रोकावट भई बिरुवालाई नकारात्मक असर गर्छ। यो समस्या नेपालको तराई क्षेत्रमा बढी देखिन्छ र यो समस्या खास गरी पौष महिनामा  देख्ने गरिन्छ। पराल जलाएको खेतमा गहुँ लगाउँदा यो समस्या बढी देखिन्छ। किनभने पराल जलाउँदा ती खेतको माटोमा हुने सूक्ष्म जीवहरूको सङ्ख्यामा ठूलो कमी आउँछ तथा  जब तापक्रम १५ डिग्री सेल्सियसभन्दा तल झर्छ, तब सूक्ष्म जीवहरूको गतिविधि एकदमै कम हुन्छ जसले गर्दा गहुँको तल्लो पात पहेँलो हुन जान्छ। यी सूक्ष्म जीवहरूको मुख्य काम माटो भित्र घुलनशील पोषक तत्त्वहरूलाई घुलनशील रूपमा रूपान्तरण गरी बिरुवाहरूलाई उपलब्ध गराउनु हो। बिरुवा भित्र रहेका सूक्ष्म जीवहरू (एन्डोफाइट) ती पोषक तत्त्वहरूलाई बिरुवाका विभिन्न भागहरूमा लैजान काम गर्छन्। अत्यधिक चिसोका कारण यो गतिविधिमा ठुलो ह्रास आउँछ।

के यो रोग हो ?

यो कुनै रोग होइन, यो वातावरणीय र मौसममा घटबढले गर्दा यो समस्या उत्पन्न हुन्छ तर पछि उपयुक्त वातावरण पाएपछि बिरुवाहरू समय सँगै आफैँ स्वास्थ्य भइहाल्छन्। यसको वास्तविक कारण नबुझ्दा किसानहरू चिन्तित भएका हुन्छन् । यस समस्यालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न यसको पहिचान, कारण र उपायहरू बुझ्नु अत्यन्त महत्त्वपूर्ण छ।

गहुँका पातहरू पहेँलो हुनुका मुख्य कारणहरू,

• अत्यधिक चिसोका कारण पहिलो वा दोस्रो सिँचाइ पछि खेतमा पानी जमेको कारण धेरै पटक बिरुवाको तल्लो पातहरू पहेँलो हुन्छ।

• चिसो मौसमले गर्दा  माटोमा भएका सूक्ष्म जीवहरूको गतिविधिमा गहिरो प्रभाव पार्छ, जसले गर्दा बिरुवाहरूद्वारा पोषक तत्त्वहरूको शोषणमा बाधा पुर्‍याउँछ।

• जाडोमा नाइट्रोजनको उपलब्धता कम भई यसको कमीले बिरुवाको पात पहेँलो हुन्छ साथै जिङ्क र सल्फरको कमीले पनि पातहरू पहेँलो हुनु प्रमुख कारण हो।

• जाडोमा दिन छोटो भएकाले बिरुवाको तल्लो पातले पर्याप्त सूर्यको प्रकाश पाउँदैन जसले गर्दा प्रकाश संश्लेषणमा कमी भई पातहरू पहेँलो हुन्छन्।

• पहेँलो सिन्दुर (Yellow Rust)  र पातको बलाइट रोगहरूले तल्लो पातहरू पहेँलो बनाउँछ। जरा र काण्ड सड्ने रोगको कारण, बिरुवा कमजोर र पहेँलो हुन्छ।

पातहरू पहेँलो हुने समस्यालाई व्यवस्थापन गर्ने उपायहरू,

• उपयुक्त समयमा गहुँ लगाउने : उपयुक्त समयमा गहुँ छर्दा बिरुवालाई चिसोको प्रतिकूल प्रभावबाट बचाउन सकिन्छ । प्राय: तराई क्षेत्रमा कार्तिकको अन्तिम हप्ता देखि मंसिर १५ गते सम्म र पहाडमा कार्तिक महिना भित्रमा लगाउनुपर्छ ।

• सिँचाइको राम्रो व्यवस्थापन गर्ने : गहुँमा पहिलो सिचाइ गहुँ रोपेको २०-२५ दिन भित्रमा गर्नुपर्छ र त्यसपछि आवश्यकता अनुसार सिँचाइ गर्नुपर्छ तर खेतमा एक दिन भन्दा बढी दिन सम्म पानी जम्न दिनु हुँदैन ।

• मल तथा पोषक तत्त्वहरूको उचित व्यवस्थापन गर्ने : गहुँ रोपने बेलामा नाइट्रोजन (युरिया) सिफारिस गरेको आधा भाग  र फस्फोरस र पोटासको पूर्ण भाग प्रयोग माटोमा दिनुपर्छ र त्यसपछि पहिलो र दोस्रो सिँचाइको समयमा बाकी रहेको युरिया भाग दोस्रो र तेस्रो गरी टप ड्रेसिङ गर्नुपर्छ । साथै युरिया सङ  जिङ्क सल्फेट २०-२५ kg/हेक्टर) र सल्फर (१५-२० kg/हेक्टर) प्रयोग गर्दा उत्पादनमा वृद्धि हुन्छ।

• बाली अवशेष व्यवस्थापन गर्ने : गहुँ खेती गर्नुअघि खेतमा पुरानो बालीको अवशेषलाई कहिल्यै जलाउनु हुँदैन किनभने यसले गर्दा खेतको माटो बाँझो हुन जान्छ  । पराल जलाउनुको सट्टा, यसलाई विघटन गर्ने यन्त्रले कुहाएर माटोमा मिसाउने। यसले माटोको उर्वरता र रोग प्रतिरोधी क्षमता बढाउँछ।

• युरियाको स्प्रे गर्ने : खेतमा पहेँलो पातहरू देखेमा   युरियाको घोल १% वा २% (१० वा २० ग्राम युरिया प्रति लिटर पानीमा घोलेर) छर्कने । ०.५% म्याग्नेसियम सल्फेट छर्केर बिरुवालाई हरियो राख्न मद्दत गर्छ।

• दुसीनाशक विषादी छर्कने : यसरी पहेँलो पातको साथसाथै पातमा जलेको र सिन्दुरे धब्बा देखेमा कार्बेन्डाजिम ७५% डब्लुपी दुसीनाशक विषादी २ ग्राम प्रति लिटर पानी का दरले छर्के वा प्रोपिकोनाजोल २५% इसी (जस्तै बोनस, बम्पर, टिल्ट २५) ०.७५ ग्राम प्रति लिटर पानीका दरले मिसाई छर्कने ।

(लेखकले भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट कृषिमा स्नातक गरेका छन् । उनी हाल कृषि लोकसेवाको तयारी गर्दै छन् ।)

Back to top