×

रौतहट । देवाही गोनाही नगरपालिका-३ की एकल महिला चनिया देवी प्रहरी ज्यादतीको शिकार भएको आरोप लगाउँदै न्यायको माग गरिरहेकी छन् ।

घटनाको विवरणअनुसार, चनिया देवी गत आइतबार सीमापारीबाट एक बोरा चामल र १० किलो तिल लिएर गौर भन्सार कार्यालयअगाडि आइपुगेकी थिइन् । अटोबाट चामलको बोरा उतार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको र सामान खोसाखोसको क्रममा धकेलाधकेली हुँदा खसेर उनको हात भाँचिएको उनले आरोप लगाएकी छिन् ।

चनिया देवीले प्रहरीलाई, “यो चामल खानका लागि हो, नखोस्नुहोस्” भनेर बिन्ती गरे पनि कुनै वास्ता नगरेको बताइन् । उनका अनुसार, प्रहरीले चामलको बोरा जबरजस्ती खसाल्दा उनी लडेर घाइते भएकी हुन् । उनले भनेकी छिन्, “प्रहरीले नै मलाई अस्पताल पुर्‍यायो तर कसैलाई केही नभन्नु, नभए कारोबार गर्न नदिने धम्की दिए ।”

तर, गौर भन्सार कार्यालय प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरीक्षक वृजकिशोर यादवले चनिया देवीका सबै आरोप अस्वीकार गरेका छन् । 

उनले भने, “प्रहरीले कसैलाई धक्का दिएको छैन, कुटपिट गरेको छैन । यहाँ सिसिटिभी क्यामरा छ, अनुसन्धान गर्दा सबै स्पष्ट हुन्छ । महिला आफैँ लडेर घाइते भएकी हुन् । हामीले उनलाई अस्पताल पुर्‍याएर मानवीय सहयोग मात्र गरेका हौँ ।”

घटनाको थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ । चनिया देवीजस्ता सीमावर्ती क्षेत्रमा जीवनयापनका लागि साना कारोबार गर्ने महिलाहरूको सुरक्षासम्बन्धी सवाल अहिले थप गम्भीर बनेको छ ।

Back to top