×

रौतहट । रौतहट प्रहरीले कीटनाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । बिलबिजक र सामान फरक देखिएपछि प्रहरीले शंका जनाउँदै दुवै गाडी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय गौरबाट गइरहेको गस्ती टोलीले गए राति सिया पैलेस होटेल अगाडि गहुँ बोकेको ना २ त १६५० नम्बरको ट्याक्टर र कीटनाशक औषधि बोकेको ना २ त ७७६१ नम्बरको पिकअप गाडी जाँच गर्दा बिलबिजक र सामानमा फरक देखिएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशङ्कर प्रसादले जानकारी दिए ।

प्रहरीले बरामद गरेका सामग्रीहरूसहित गाडी र चालकलाई अनुसन्धानका लागि आज आन्तरिक राजस्व कार्यालय, बारा पथलैया पठाइएको छ ।  

गहुँ बोकेको ट्याक्टरका चालक गौर नगरपालिका–५ निवासी ४५ वर्षीय सञ्जीव यादव र पिकअप गाडीका चालक ३० वर्षीय सुनिल यादवलाई समेत अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।  

प्रहरीले सामान तथा बिलबिजकको विसङ्गतिलाई ध्यानमा राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

Back to top