रौतहट । रौतहटको कटहरिया नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत हजारौँ विद्यार्थी मेयर अजयप्रकाश जैसवालको लापरबाहीका कारण अर्धवार्षिक परीक्षाबाट वञ्चित भएका छन् ।
कटहरिया नगरपालिकाभित्रका २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् । गत वैशाखमा सुरु भएको नयाँ शैक्षिक सत्रअनुसार कार्तिक मसान्तभित्र अर्धवार्षिक परीक्षा सम्पन्न गरिनुपर्ने भए पनि पुस महिनाको अन्त्यसम्म पनि परीक्षा सञ्चालन हुन सकेको छैन ।
नगर क्षेत्रका सामुदायिक विद्यालयहरूमा त्रैमासिक परीक्षा विद्यालयकै स्रोतसाधनबाट सञ्चालन हुने र अर्धवार्षिक तथा वार्षिक परीक्षा नगरपालिकाको व्यवस्थापनमा हुने परिपाटी रहँदै आएको छ । तर, यस वर्ष नगरपालिकाले अर्धवार्षिक परीक्षाका लागि आवश्यक स्रोतसाधन समयमै उपलब्ध नगराउँदा परीक्षा सञ्चालन हुन नसकेको भसेढवाका मावि प्रधानाध्यापक राममंगल यादवले जानकारी दिएका छन् ।
नगरपालिकाको लापरबाहीले हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अभिभावकहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन् । कटहरिया–७ का वडा अध्यक्ष सहिद मियाँ दर्जीले परीक्षा गराउन आवश्यक खर्च विद्यालयलाई समयमा नदिनु मेयर जैसवालको चरम लापरबाही भएको आरोप लगाए ।
नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले भने वडा अध्यक्षहरूले अर्धवार्षिक तथा वार्षिक परीक्षाको लागि बजेट छुट्याउन नसक्दा समस्या उत्पन्न भएको दाबी गरेका छन् । उनले हाल नगरपालिकामा तालाबन्दी भएकाले थप कठिनाइ भए पनि परीक्षा सञ्चालनका लागि खर्च जुटाउने प्रयास जारी रहेको बताए ।
तर, कटहरियाकी उपमेयर रिता देवी यादवले मेयर जैसवालको बचाउ गर्ने शिक्षा संयोजक ठाकुरको भनाइलाई खण्डन गर्दै नगरपालिकाले यसअघि हरेक वर्ष परीक्षा सञ्चालनका लागि आवश्यक खर्च उपलब्ध गराउँदै आएको बताइन् । उनले वडा अध्यक्षहरूलाई दोष लगाएर मेयरले जिम्मेवारीबाट उम्किन नपाउने स्पष्ट गरिन् ।
नगरवासीहरूले मेयर जैसवालमाथि इन्धन, डिपिआर, आर्थिक सहयोग र करार कर्मचारीको तलबजस्ता शीर्षकमा करोडौँ रुपैयाँ मनपरी खर्च गरेको तर विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षाजस्तो महत्त्वपूर्ण विषयलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
नगरपालिकाभित्रको तालाबन्दी र जनप्रतिनिधिहरूबीचको आपसी विवादले सामुदायिक विद्यालयका विद्यार्थीहरू पठनपाठन र परीक्षाबाट वञ्चित हुँदा उनीहरूको शैक्षिक भविष्यमा गम्भीर प्रभाव पर्ने देखिन्छ ।