×

रौतहट । रौतहटको वृन्दावन सब डिभिजन वन कार्यालयअन्तर्गतको जङ्गलमा अन्दाजी १० देखि १२ वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको छ । सोमबार साँझ स्थानीय बासिन्दाले कुलोमा बगेर गाउँ नजिक आएको चितुवाको शव देखेपछि वन कार्यालयलाई खबर गरेका थिए ।

चितुवाको शव वृन्दावन सब डिभिजन वन कार्यालयमा ल्याएर स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर गाडिएको छ । वन कार्यालयका फरेष्टर जयप्रकाश साहका अनुसार चितुवा मृत अवस्थामा फेला परेको र यसको मृत्युका कारणबारे विभिन्न अड्कलबाजी भइरहेको छ ।

चितुवाको मुखबाट रगत बगेको देखिएपछि स्थानीय बासिन्दाले चितुवा सिकारीको सिकार हुन सक्ने आशङ्का गरेका छन् । यद्यपि यसको औपचारिक पुष्टि हुन भने सकेको छैन ।

डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत राम गणेश साहले भने, “चितुवाको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्छ ।” उनका अनुसार सिकारीको आक्रमण भएको भए गोली अथवा अन्य कुनै घाउ वा चोट देखिनुपर्ने थियो । तर चितुवाको शरीरमा यस्तो कुनै प्रमाण नभेटिएको उनले बताए। साहले चितुवा बुढेसकालका कारण मरेको हुनसक्ने बताए ।

चितुवाको मृत्युले वन्यजन्तु संरक्षणमा थप चुनौती थपेको छ । चोरी सिकारीको आशङ्काले वन क्षेत्रको सुरक्षा, आवश्यक जनशक्तिको अभाव र प्रभावकारी नीतिको कार्यान्वयनमा कमजोरी रहेको तथ्य उजागर भएको छ ।

स्थानीय बासिन्दाका अनुसार रौतहटको वन क्षेत्रमा पछिल्लो समय चोरी सिकारी बढ्दै गएको छ । वन्यजन्तु संरक्षणका लागि गम्भीर अनुसन्धान र प्रभावकारी कदम आवश्यक रहेको उनीहरूको धारणा छ । चितुवाको मृत्युका कारणबारे थप अनुसन्धान भइरहेको र यसबारे यथार्थ पत्ता लगाउन सक्दो प्रयास गरिने वन अधिकारीहरूले बताएका छन् ।

Back to top