×

रौतहट । रौतहटको बडहर्वा प्रहरी चौकीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइँदै गरेको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई मङ्गलवार सार्वजनिक गरिएको छ ।

प्रहरी चौकी बडहर्वाबाट खटिएको गस्ती टोलीले सोमबार राति दुर्गा भगवती गाउँपालिका–५ वाग्मती नदी नजिक दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल (बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३) मा अवैध रूपमा ल्याइँदै गरेको कपडासहित दुई व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमा दुर्गा भगवती–५ का किशोरी चौधरी कलवार र नरेश साह तेली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताका अनुसार पक्राउ परेका व्यक्तिहरू र अवैध सामानबारे अनुसन्धान भइरहेको छ । उनले भने, ‘भारतबाट अवैध सामान ल्याउने गिरोह पत्ता लगाउने काम भइरहेको छ ।’

प्रहरीले अवैध रूपमा भारतबाट सामान ल्याउने गिरोहविरुद्ध आवश्यक कारबाही अघि बढाएको छ । यस घटनाले सीमा क्षेत्रमा भन्सार छलीका गतिविधि रोकथाम गर्न थप निगरानी आवश्यक रहेको देखाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई कानुनी प्रक्रिया अनुसार अगाडि बढाइने प्रहरीले जनाएको छ ।

Back to top