रौतहट । चन्द्रपुर नगरपालिका वडा नं. ५ स्थित शन्तानेश्वर महादेव मन्दिरको पछाडीमा १५ शैया अस्पतालको नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ।
चन्द्रपुर नगरपालिका प्रमुख सन्जय काफ्लेले अस्पताल भवनको शिलान्यास गर्दै नगरवासीको स्वास्थ्य उपचार सुविधा र शुलभता प्रदान गर्ने चुनावी वाचा पूरा गर्ने उद्देश्यसँगै नयाँ अस्पताल भवनको शिलान्यास गरिएको बताए। अस्पतालको निर्माण संघीय सरकार र चन्द्रपुर नगरपालिका दुवैको बजेटबाट हुनेछ।
अस्पताल भवनको निर्माण कार्य साहु कन्स्ट्रक्सनले ४ करोड ९ लाख रुपैयाँको बजेटमा गर्नेछ र यसलाई तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अस्पताल भवनमा अन्डरग्राउण्ड पार्किङ्ग लगायत सबै आधुनिक सुविधा प्रदान गरिने छ। नगर प्रमुख काफ्लेले थप सुबिधा प्रदान गर्ने कार्यका लागि थप ठेक्का प्रक्रिया अघि बढाउने कुरा पनि बताएका छन्।
नयाँ अस्पताल भवन निर्माणले चन्द्रपुर नगरपालिकाका नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा र सुबिधा सम्पन्न उपचार प्रदान गर्ने विश्वास गरिएको छ। यस परियोजनाले नगरवासीको स्वास्थ्य समस्यालाई समाधान गर्दै, चुस्त र सक्षम स्वास्थ्य सेवा व्यवस्थापनमा योगदान पुर्याउनेछ।
चन्द्रपुर नगरपालिका प्रमुख काफ्लेले अस्पताल भवन निर्माणलाई नगरवासीको लागि ठूलो उपलब्धि र स्वास्थ्य सेवामा महत्वपूर्ण कदमको रूपमा देखेका छन्।