×

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका युनिटहरूले पछिल्लो ६ महिनामा झन्डै अढाई करोड रुपैयाँ बराबरको अवैध सामानसहित ६६ जना तस्करलाई पक्राउ गरेको छ। बिहीबार सार्वजनिक गरिएको ६ महिने प्रगति प्रतिवेदनमा भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याइएका विभिन्न प्रकारका सामान बरामद गरी भन्सारमा बुझाइएको उल्लेख छ।

प्रहरीका अनुसार साउनदेखि पुस मसान्तसम्म तस्करीमा प्रयोग भएका २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई-रिक्सा, १०८ थान मोटरसाइकल र १४ थान साइकलसमेत बरामद गरिएको छ। साथै, ६६ जना तस्करलाई पक्राउ गरी कानूनी कारबाही थालिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए।

प्रहरीले हुण्डी कारोबारमा संलग्न ३ जनालाई १५ लाख रुपैयाँसहित पक्राउ गरेको छ। चोरीसम्बन्धी कारबाहीमा २ थान स्कार्पियो र २१ वटा मोटरसाइकलसहित २४ जना पक्राउ परेका छन्।

अपराध नियन्त्रणमा प्रहरी सक्रिय
प्रहरीको तथ्याङ्क अनुसार, सोही अवधिमा कर्तव्य ज्यानका ९ मुद्दा दर्ता भएकोमा ५ फर्छ्यौट भएका छन्। जबरजस्ती करणीका १३ मुद्दामध्ये ६ फर्छ्यौट भएका छन्। लागूऔषध सम्बन्धी १५ मुद्दा दर्ता भई १४ फर्छ्यौट भएको छ। हातहतियार खरखजाना सम्बन्धी ६ मुद्दा दर्ता हुँदा ५ फर्छ्यौट भएका छन्।

चालू आवको पहिलो ६ महिनामा चोरीसम्बन्धी ३८ मुद्दा दर्ता भई सबै फर्छ्यौट भएका छन्। गत वर्षको सोही अवधिमा ३५ मुद्दा दर्ता भई सबै फर्छ्यौट भएको थियो। मुद्रा सम्बन्धी ४ मुद्दा दर्ता भई सबै फर्छ्यौट भएका छन्।

वनजन्य र नदीजन्य तस्करीमाथि कारबाही
राष्ट्रिय तथा सामुदायिक वनबाट तस्करहरूले अवैध रूपमा कटान गरी ल्याएको ११८ क्यूफिट सालको गुलिया काठ र ३ ट्रली बालुवा नियन्त्रणमा लिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ। नदीजन्य पदार्थ ढुवानीमा प्रयोग भएका २३ सवारीसाधन नियन्त्रणमा लिई ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

ट्राफिक कारबाहीबाट ६८ लाख राजस्व
रौतहट ट्राफिक प्रहरीले नियम विपरीत चलेका सवारीसाधनमाथि गरेको कारबाहीबाट ६८ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

रौतहट प्रहरीको तथ्याङ्कले अपराध र तस्करी नियन्त्रणमा सुरक्षाकर्मीको सक्रियता स्पष्ट पारेको छ। यसलाई थप सशक्त बनाउन स्थानीय समुदायको सहयोग आवश्यक रहेको प्रहरीको धारणा छ।

Back to top