काठमाडौं । पछिल्लो समय सिने पत्रकारितामा जमेका फोटो पत्रकार हुन् सुरेन्द्र थापा । उनी फोटो खिच्न निकै खप्पिस छन् । क्यामराप्रतिको उनको लगाब हेर्दा लाग्छ, उनी क्यामरा चलाउनकै निम्ति, फोटो खिच्नकै निम्ति जन्मिएका हुन् । उनले खिचेका अधिकांश फोटोहरु मिडियाको प्राथमिकतामा पर्दै आएका छन् । उनी आफुलाई फोटो पत्रकारमा अब्बल तुल्याउन चाहान्छन् । नेपाली सेलिब्रेटीहरुका समेत प्रिय रहेका थापा हिमालय टाइम्स दैनिक मिडियामा आबद्ध छन् ।
साधारण अनलाइन पत्रपत्रिकादेखि ठुला ठुला मिडियाले समेत उनले खिचेका तस्विरहरु प्रयोग गर्दछन् । सिनेमाका विभिन्न कार्यक्रम होस् या अन्य कुनै पनि कार्यक्रम हुँदा अफिसियल फोटोग्राफरको रुपमा पनि उनले काम गर्दै आएका छन् । सम्भावना बोकेका फोटो पत्रकारहरु समेत पछिल्लो समय फोटो पत्रकारितामा आफ्नो भविष्य नदेखेर विदेशिएको अवस्थामा सुरेन्द्र भने नेपालमै संघर्षरत छन् । आफ्नै ठाउँमा मेहनत गरेर स्थापित हुने सपना देखेका छन् सुरेन्द्रले । र त्यही सपनालाई साकार पार्ने संघर्षका बाटोहरुमा यात्रा गरीरहेका छन् ।
निरन्तर मेहनत र धैर्य हुने हो भने अवश्य सफल भइन्छ भन्नेमा उनी विश्वस्त पनि छन् । सिने पत्रकारिता मात्रै नभएर पछिल्लो समय हरेक मिडियाले चलचित्र एवम् मनोरञ्जन विधालाई समावेश गरीरहेका छन् । त्यसैले पनि मनोरञ्जन एवम् कला पत्रकारितामा युवाहरुको प्रवेशले पत्रकारितामा लेखनसँगै फोटोको भुमिका अनिवार्य बनाएको छ भन्दा फरक पर्दैन । अहिलेको सामाजिक सञ्जालको समयमा तस्बिरको महत्व झनै बढेको छ । हरेक समाचारमा तस्बिर अनिवार्य जस्तै भएकोे छ । जसले गर्दा तस्बिर खिच्नेहरुको माग पनि अत्यधिक छ ।
कोभिड १९ को महामारी अघि उनी फोटो भन्दा पनि भिडियोमा बढी सक्रिय थिए । औपचारिक कार्यक्रमहरुको भिडियो खिच्ने कार्य गर्दै आएका सुरेन्द्रको शौख बिस्तारै भिडियो भन्दा पनि फोटोतर्फ बढ्न थाल्यो ।
सेलिब्रेटी मोह हरकोहीमा हुनु स्वभाविक हो, म त्यसबाट कसरी अछुत हुन सक्थे र ? चमकधमक र झिलिमिली बत्ती भएको ठाउँहरुमा सिनेमाको कार्यक्रमहरु हुँदै गर्दा त्यहाँ आउने सेलेब्रेटीहरुसँग जो कोहिलाई पनि तस्बिर खिचाउन मन लाग्छ । अभिनेत्री केकी अधिकारीको सिनेमा ‘कोहलपुर एक्प्रेस’को समयमा सुरेन्द्रले पहिलो पटक कलाकारसँग तस्बिर खिचेको क्षण स्मरण गरे ।
‘सुरु सुरुमा उनी डराउँथे, उनले सुरुवाती दिनहरु सम्झिदै भने,‘त्यतिबेलाको फोटो खिच्ने क्यामराप्रतिको मोहकै कारण म अहिले सबैको प्रिय बनेको छु भन्ने लाग्छ ।’ उनी आफुलाई विशिष्ठ कलाकारहरुको माया सद्भावले यो पेशामा अगाडि बढ्न प्रेरणा बढेको बताउँछन् । उनकाअनुसार वरिष्ठ अभिनेता÷अभिनेत्री देखि अहिलेका चल्तिका कलाकारहरुले आफुले खिचेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो कामप्रति अझ हौसला थपिएको हो ।
भनिन्छ् नी, टेक्ने हाङ्गो र समाउने ठाउँ गतिलो भयो भने मानिसलाई कुनै पनि कार्यमा सफलता हासिल गर्न गाह्रो हुँदैन । रंगपत्रकार गीता अधिकारी (मिलाप मासिकका सम्पादक) पनि सुरेन्द्रको समाउने ठाउँ भएर आइन् । उनले भने,‘मलाई अप्ठ्यारो समयमा दिदीले यो क्षेत्रमा मार्गनिर्देश गर्न ठुलो भुमिका खेल्नुभएको छ ।’
उनले थपे, ‘मैले यो क्षेत्रमा फोटो खिचेर पाएको भनेको सम्मान हो । अग्रज कलाकारहरुले सुरेन्द्र भाई एउटा फोटो खिचिदिनु न है भन्नुहुन्छ । त्यो फोटो फेसबुक तथा अन्य सामाजिक सञ्जालहरुमा राखेर धन्यवाद दिनुहुन्छ । यो नै मेरो लागि खुशीको कुरा हो । यसले नै मलाई कामप्रति अझै जिम्मेवारी बोध गराउँछ ।’
नेपालका अधिकांश मिडियाले पनि सुरेन्द्रले नै खिचेका तस्बिरहरु प्रयोग गर्दछन् । तर आफुले खिचेका तस्बिरहरु बिना अनुमती र बिना पारिश्रमिक प्रयोग गर्दा भने उनको मन खिन्न हुन्छ । तस्बिर प्रयोग गर्नु ठीकै भएपनि नसोधेर र फोटोमा भएको नाम समेत काटेर सम्प्रेषण गरिदिँदा उनको चित्त दुख्नु पनि स्वभाविक हो ।
उनले म्युजिक भिडियोदेखि ठुला व्यानरका सिनेमाको पोस्टरका लागि फोटो खिचेका छन् । पछिल्लो समय उनले शोभित बस्नेतको सिनेमा ‘जय हो’ को पोस्टरको लागि अफिसियल्ली फोटो खिचेका थिए । यसबाहेक उनले औपचारिक र अनौपचारिक रुपमा हुने सयौँ कार्यक्रमहरुमा तस्बिर खिचेको अनुभव बटुलेका छन् ।
सुरेन्द्रले फोटो पत्रकारिताको यात्रालाई थप सशक्त बनाउने उद्देश्यले सुरसिनेमा डटकम अनलाइन मिडिया सञ्चालन गरेका छन्। यस प्लेटफर्ममार्फत उनले आफैं खिचेका तस्बिरसँगै आफू सहभागी भएका विभिन्न कार्यक्रमका समाचार पनि सम्प्रेषण गर्दै आएका छन्। सुरसिनेमा डटकमले मनोरञ्जन क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै पाठक र दर्शकलाई सम्पूर्ण जानकारी उपलब्ध गराउँदै आएको छ।