×

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा यस वर्ष पनि मधानी महायज्ञ भव्य रूपमा आयोजना गरिने भएको छ ।

आउँदो ११ फागुनदेखि सुरु हुने पाँच दिने महायज्ञको तयारी तीव्र रूपमा भइरहेको मौलापुर नगरपालिकाकी प्रमुख रिना साहले जानकारी दिएकी छन् ।

मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा उनले महायज्ञको कार्यक्रम तालिका सार्वजनिक गर्दै यसलाई भव्य बनाउन नगरपालिकाले विशेष तयारी गरिरहेको बताइन् ।

यस वर्षको मधानी महायज्ञमा हिन्दी तथा भोजपुरी सिने जगतका चर्चित कलाकारहरूको उपस्थित रहनेछ । भोजपुरी फिल्म उद्योगका चर्चित कलाकार तथा सांसद रवि किशन, निर्माता एवं विधायक विनय बिहारी, गायक एवं अभिनेता रितेश पाण्डेसहित मिंटुवा भोजपुरीया, गायक सुनिल पण्डित, गायिका अनु चौधरी, कलाकार सद्दाम हुसेन, रचना सिवाकोटी, गायक रुद्र नारायण तिवारी, कलाकार प्रीति आर्या पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राई, मोनालिसालगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको समेत प्रस्तुति रहनेछ ।

पत्रकार सम्मेलनमा प्रमुख साहले मौलापुर नगरपालिकास्थित ऐतिहासिक एवं धार्मिक स्थल पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरिन् । उनले उक्त मन्दिरको उत्खनन कार्य अव्यवस्थित रूपमा भइरहेको भन्दै यसको उचित संरक्षणका लागि सरकारलाई ध्यान दिन आग्रह गरिन् ।

नेपाल सरकारले यस मन्दिरलाई एक सय प्रमुख पर्यटकीय गन्तव्यमा सूचीकृत गरिसकेको भए पनि यसको संरक्षण र प्रवर्द्धनमा खासै ध्यान नदिइएको उनको गुनासो थियो । हजारौँ वर्ष पुरानो इतिहास बोकेको मन्दिर धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले यहाँ गरिने भगवान् शिवको पूजा अनुष्ठान विश्वमै अनौठो तथा मौलिक शैलीको रहेको बताइन् ।

मधानी महायज्ञ ११ फागुनमा विशेष उद्घाटन समारोहसहित सुरु हुनेछ । १२ फागुनमा शिव बारात यात्रा आयोजना गरिनेछ भने १३ फागुनमा मधानी विशेष पूजा समारोह हुनेछ । १४ फागुनमा मधानी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने १५ फागुनमा मधानी विशेष दङ्गल कार्यक्रम गरिने छ । महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, सङ्घीय सांसद तथा पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न गरिनेछ । विगतका संस्करणहरूमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पशुपतिनाथ मन्दिरका मुख्य भट्ट पुजारीसम्मको सहभागिता रहिसकेको छ ।

महायज्ञलाई भव्य र व्यवस्थित बनाउन विभिन्न समिति गठन गरी तयारी तीव्र पारिएको आयोजक समितिले जनाएको छ ।

Back to top