×

सिरहा निवासी महिला अधिकारकर्मी देव कुमारी महरासँग उहाँकै घरमा पुगेर भेट्ने अवसर मिल्यो। ढल्केवरबाट गुगल म्यापको सहयोगले करिब १.५ घण्टाको मोटरसाइकल यात्रापछि पहिलो पटक उहाँको गाउँ आइपुग्दा मनमा उत्सुकता थियो। विशेष गरी, उहाँका श्रीमान् स्वर्गीय विष्णु महराको १३औं पुण्यतिथिमा सहभागी हुन नसके पनि धनुषामा साथीको विवाहमा सहभागी हुन आएका बेला उहाँलाई भेट्ने संयोग जुर्यो।

देव कुमारी महरा महिला अधिकार तथा मानव अधिकारको क्षेत्रमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय हुनुहुन्छ। सर्लाहीको ओरेक नेपालसँग आबद्ध भएर उहाँले महिलाहरूको न्यायका लागि संघर्ष गर्दै आउनुभएको छ। उहाँले हिंसामा परेका महिलाहरूलाई सहयोग गर्नुका साथै उनीहरूलाई न्याय दिलाउन आफ्नो ज्यानको बाजीसमेत राख्नुभएको छ। उहाँको समर्पणकै कारण समाजका धेरै महिलाहरूले न्याय पाएका छन्।

तर, गएको पुष महिनाको १७ गते भएको एक अकल्पनीय घटनाले उहाँको व्यक्तिगत जीवनमा ठूलो धक्का लाग्यो। अस्वस्थ श्रीमानको उपचार र हेरचाहमा जुटिरहनुभएको बेला उहाँको पतिको हृदयघातका कारण असामयिक निधन भयो। यो घटनाले उहाँलाई मानसिक रूपमा निकै प्रभावित तुल्याएको छ। पतिको मृत्युले उहाँलाई भित्री रूपमा कमजोर बनाएको छ, र अहिले पनि उहाँलाई यो सत्य स्वीकार गर्न कठिन भइरहेको छ। उहाँ अझै पनि श्रीमान्को सम्झनामा डुबिरहनु भएको छ।

बालविवाहबाट अधिकारकर्मीसम्मको यात्रा

११ बर्षकै कलिको उमेरमै विवाह भएकी दलित समुदायकी बुहारीलाई सशक्त महिला अधिकारकर्मी सम्मको यात्रा सरगरमाथा चढनुभन्दा पनि कठिन थियो। 

परम्परागत समाजमा बुहारीहरूलाई घरभित्र सीमित गरिन्थ्यो, तर श्रीमानको साथ र समर्थनले उहाँले आफ्नो पढाइलाई निरन्तरता दिनुभयो। महिला अधिकारका क्षेत्रमा सक्रिय भएर अगाडि बढ्नुभयो, जसले उहाँलाई समाजमा स्थापित गर्‍यो।
विस २०५२ साल तिर मधेसका महिलाहरूको लागि बाहिर गएर काम गर्नु सहज थिएन, तर उहाँले समाजका विभिन्न चुनौती पार गर्दै एक सशक्त महिला अधिकारकर्मीको रूपमा आफूलाई उभ्याउन सफल हुनुभयो।

उहाँकै नेतृत्वमा सयौं हिंसा प्रभावित महिलाहरूले न्याय पाएका छन् भने दर्जनौं महिलाहरूले नयाँ जीवन सुरु गर्न सफल भएका छन्। समाजबाट पाएको धम्की र दबाबलाई उहाँले संघर्षको रूपमा लिनुभयो र अन्य पीडित महिलाहरूको पक्षमा निरन्तर लडिरहनुभयो। उहाँले बालविवाह, घरेलु हिंसा, तथा अन्य लैंगिक विभेदविरुद्ध कानुनी लडाइँ लड्न सहयोग गर्दै आउनुभएको छ। उहाँको संघर्षकै कारण धेरै महिलाहरूले आफ्नो जीवनलाई नयाँ ढंगले अगाडि बढाउन पाएका छन्।

हालको अवस्था र चुनौतीहरू

हाल उहाँ आफ्नो परिवारको निगरानीमा हुनुहुन्छ र चिकित्सकको सल्लाह तथा सुझावहरू पालन गर्दै हुनुहुन्छ। पतिको वियोगले उहाँलाई गहिरो मानसिक असर पारेको छ, जसले गर्दा दैनिक कार्यमा फर्कन उहाँलाई गाह्रो भइरहेको छ। तर, उहाँको अठोट कमजोर भएको छैन।

उहाँले आफ्नो व्यक्तिगत पीडालाई शक्तिमा बदल्दै फेरि समाजसेवामा फर्कने इच्छा राख्नुहुन्छ। पतिको साथ गुमाए पनि उहाँको संकल्प अझ बलियो देखिन्छ। यस कठिन परिस्थितिमा समाजले उहाँलाई साथ दिनु आवश्यक छ, ताकि उहाँ आफ्नो महत्त्वपूर्ण कार्यलाई निरन्तरता दिन सकून्।

देव कुमारी महराको संघर्ष र योगदानले अन्य महिलाहरूलाई प्रेरित गर्छ। उहाँको यात्राले प्रमाणित गर्छ कि कठिनाइहरूका बाबजुद पनि दृढ संकल्प र आत्मविश्वासले ठूलो परिवर्तन ल्याउन सकिन्छ। उहाँको सपना भनेको महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउनु हो, र यसका लागि उहाँ अझै पनि संघर्षशील हुनुहुन्छ।

Back to top