×

फाइल तस्बिर ।

वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक विशेष शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, मुलुकको समृद्धि तथा प्रजातान्त्रिक मूल्य–मान्यताप्रति आफ्नो गहिरो प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले नेपाली जनताको सुसंस्कार, अनुशासन र देशभक्ति भावना बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । साथै, नेपाललाई शान्ति, स्थिरता र समृद्धिको दिशामा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा पूर्वराजाले प्रजातन्त्र स्थापनामा राजा र जनताको सहकार्यको ऐतिहासिक महत्त्व स्मरण गर्दै राष्ट्रपिता श्री ५ त्रिभुवनको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, उनले ज्ञात-अज्ञात शहीदहरूको त्याग र बलिदानलाई सम्मान गर्दै प्रजातन्त्रलाई सशक्त बनाउन सबै वर्ग, समुदाय तथा क्षेत्रलाई समेट्नु आवश्यक रहेको बताएका छन् ।

पूर्वराजाले प्रजातन्त्रलाई केवल विवाद, द्वन्द्व र प्रतिरोधको रूपमा मात्र नबुझी समाजमैत्री र जनहितकारी प्रणालीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनका अनुसार, प्रजातन्त्र केवल आकर्षक आदर्शमा सीमित रहनु हुँदैन, बरु यसलाई कर्म र व्यवहारमा पनि उतार्न आवश्यक छ । निषेधको राजनीति, पक्ष–विपक्षको अहङ्कार तथा व्यक्तिगत स्वार्थले प्रजातन्त्रलाई कमजोर बनाउने भएकाले यसबाट बच्नुपर्ने उनको धारणा छ ।

शुभकामना सन्देशमा पूर्वराजाले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले विशेष गरी नेपाली युवा शक्ति बिदेसिने प्रवृत्ति, औद्योगिक तथा व्यापारिक क्षेत्रको कमजोर स्थिति, कृषि क्षेत्रको पतन, शिक्षामा देखिएको गिरावटजस्ता मुद्दाहरूलाई प्राथमिकताका रूपमा उठान गरेका छन् । उनका अनुसार, नेपालभित्रको श्रम, सीप, ज्ञान तथा स्रोतसाधनलाई उचित व्यवस्थापन नगर्दा मुलुक दिन प्रतिदिन कमजोर बन्दै गएको छ ।

उनले नेपाली नागरिकहरूले दिनहुँ बिदेसिनु परेको अवस्थालाई दुःखद भन्दै यस समस्याको समाधान खोज्न सरकार र सरोकारवाला निकायहरूलाई आग्रह गरेका छन् । नेपालमा रहेका प्राकृतिक स्रोतसाधन, औद्योगिक सम्भावना तथा कृषि क्षेत्रको उचित व्यवस्थापन गरी मुलुकलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको उनको तर्क छ ।

नेपालको स्वतन्त्रता, स्वाभिमान र पहिचानको रक्षा गर्दै राष्ट्रिय एकता सुदृढ पार्न आफू सदैव तत्पर रहेको उल्लेख गर्दै पूर्वराजाले मुलुकको समृद्धि र उन्नतिको लागि सबै नेपालीलाई एकजुट भई राष्ट्र हितका लागि समर्पित हुन आग्रह गरेका छन् । उनले विगतका कमीकमजोरी सच्याउँदै राष्ट्रिय पहिचान, मौलिक संस्कृति तथा सामाजिक सद्भावलाई जोगाउनु अत्यावश्यक रहेको उल्लेख गरेका छन् ।

उनले देशको भविष्यलाई उज्ज्वल बनाउनका लागि शिक्षा, स्वास्थ्य, रोजगार तथा आधारभूत सेवाहरूको सुधार आवश्यक रहेकोमा जोड दिएका छन् । साथै, नेपालमा नै युवाहरूलाई रोजगार सिर्जना गर्न र स्वदेशमै अवसर प्रदान गर्नुपर्नेमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

पूर्वराजाले आफ्नो शुभकामना सन्देशमा देश र जनताको हितका लागि आफू सधैँ प्रतिबद्ध रहने प्रतिज्ञा गर्दै नेपाल र नेपाली जनताको कल्याणका लागि प्रार्थना गरेका छन् । उनले सबै नेपालीलाई प्रजातन्त्र दिवसको शुभकामना दिँदै श्री पशुपतिनाथले सबैको कल्याण गरून् भन्ने कामना गरेका छन् । साथै, उनले नेपाली जनतालाई आपसी मेलमिलाप, सहिष्णुता र देशभक्तिको भावनाका साथ राष्ट्र निर्माणमा जुट्न अपिल गरेका छन् ।

Back to top