रौतहट । ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार तिन सय ५५ सवारी साधनलाई कारबाही गर्दै रौतहट ट्राफिक प्रहरीले माघ महिनाभर १३ लाख रुपैयाँ जरिवाना असुलेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मापसे गरेर सवारी चलाउने, ओभर लोड गर्ने, सिट बेल्ट वा हेलमेट नलगाउने, कागजपत्र नबोक्ने, लाइसेन्सबिनै सवारी चलाउने, रुट परमिट नलिने तथा बिग्रिएको बत्ती भएका सवारीहरू कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका सवारी साधनहरूमा बस, ट्रक, कार, जिप, भ्यान, मोटरसाइकल लगायतका विभिन्न गाडीहरू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकेन्द्र अधिकारीका अनुसार सडक सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीले निरन्तर अनुगमन गर्दै आएको छ ।
रौतहट ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्न जनचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको जनाएको छ । सडक सुरक्षालाई थप प्रभावकारी बनाउन चेकजाँच अभियानलाई कडा पार्दै जाने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।