×

बुटवल । साहित्यिक चौतारी नेपालले साहित्यको विकास र विस्तारका साथै सामाजिक सेवामा समर्पित आफ्नो ११ औँ वार्षिकोत्सव बुटवल उपमहानगरपालिकाको बसपार्कस्थित होटल ह्वाइट पाण्डाको सभाहलमा भव्य रूपमा सम्पन्न गरेको छ।

साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अग्रज साहित्यकार देवेन्द्रराज शाक्य, वरिष्ठ साहित्यकार प्रा. डा. कपिल लामिछाने, वनमाली निराकार, विजय सागर, रुद्र ज्ञवाली, डिल्लीराज भट्टराई, डा. श्याम न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा भैरहवा, देवदह, सैनामैना लगायत बुटवल आसपासका साहित्यकारहरूको उल्लेख्य सहभागिता रह्यो। संस्थाका महासचिव रामप्रसाद सुवेदी 'संगम'को सञ्चालन तथा केन्द्रीय सदस्य अमृत भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा अतिथि सत्कारको जिम्मेवारी कमला भण्डारी ढकाल, माया उपाध्याय र सुनिता प्रतिबिम्बले वहन गरेका थिए।

विमोचन, सम्मान र विशेष प्रस्तुतिहरू
वार्षिकोत्सवको अवसरमा साहित्यिक चौतारी नेपालको सातौँ अङ्क ‘चौतारी अङ्क ७’ तथा जापानलाई कर्मथलो बनाउँदै आएकी साहित्यिक चौतारी नेपाल जापान शाखाकी अध्यक्ष सरिता ढकालको कविता सङ्ग्रह ‘अग्नी सरिता’को विमोचन गरिएको थियो। विमोचित कृतिमाथि आनन्द थामीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे।

कार्य सम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिँदै आएको सर्वोत्कृष्ट शाखा सम्मान यस वर्ष लुम्बिनी प्रदेश शाखा र साहित्यिक चौतारी नेपाल अमेरिका शाखाले प्राप्त गरे। संस्थाको स्थापनाकालदेखि योगदान पुर्याउँदै आएका श्रष्टा चारखोले सिशिर न्लिङदमलाई विशेष सम्मान अर्पण गरियो।

सातै प्रदेशका श्रष्टाहरूको प्रस्तुति
कार्यक्रममा सातै प्रदेशका प्रतिनिधित्व गर्दै आएका साहित्यकारहरूले आ–आफ्ना रचनाहरू वाचन गरेका थिए। कोशी प्रदेशबाट चारखोले शिशिर, मधेश प्रदेशबाट सीता शर्मा पन्थी, बागमती प्रदेशबाट मदन काफ्ले ‘यायावर’, गण्डकी प्रदेशबाट शिव त्रिपाठी, लुम्बिनी प्रदेशबाट डम्मरी कुमारी जोसी, कर्णाली प्रदेशबाट प्रेप प्रकाश कलौनीले प्रतिनिधित्व गर्दै सिर्जनात्मक प्रस्तुति दिएका थिए।

साहित्यिक यात्रामा चौतारीको योगदान
११ वर्षको यात्रा पूरा गरेको साहित्यिक चौतारी नेपालले नेपाली साहित्यको प्रवर्द्धन र सिर्जनात्मक अभिव्यक्तिको प्रवाहमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ। संस्थाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकारहरूलाई जोड्ने माध्यम बनेर काम गरिरहेको छ।

वार्षिकोत्सव समारोहले साहित्यिक सिर्जनालाई प्रवर्द्धन गर्दै भविष्यमा अझ व्यापक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Back to top