×

रौतहट । नेपालतर्फ हुन्डी मार्फत ठूलो परिमाणमा रकम ल्याउँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले करिब २५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

भारतबाट हुन्डीमार्फत ठूलो परिमाणमा नेपाली रुपैयाँ ल्याउने गुप्त सूचनाको आधारमा एसएसबी ७१औँ बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मङ्गलवार साँझ झरौखर नाकामा चेकजाँच गर्दा उक्त रकम बरामद गरेको हो ।

घटनामा भारत, बिहार मोतीहारी जिल्लाको घोडासहन माईस्थान चौक निवासी २५ वर्षीय अविनाश कुमार पक्राउ परेका छन् । एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहका अनुसार, अविनाशले चलाइरहेको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याइएको झोलाभित्र नेपाली २४ लाख ७१ हजार रुपैयाँ भारु ३८ हजार रुपैयाँ फेला परेको थियो ।

एसएसबीले पक्राउ परेका अविनाश कुमारसँग सोधपुछ गर्दा उनले नेपालको बाराको सदरमुकाम कलैया हुन्डी कारोबार गर्न रकम लैजान लागेको स्वीकार गरेका छन् । एसएसबीका अनुसार, उनी लामो समयदेखि भारतबाट हुन्डी कारोबार गर्दै आएका छन् ।

बरामद गरिएको रकम, मोटरसाइकलसहित अविनाश कुमारलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि मङ्गलवार साँझ भारतीय झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ ।

नेपाल–भारत सीमामा हुन्डी कारोबारको क्रम बढ्दै गइरहेको भन्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

Back to top