रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको एक मात्र श्री वंशीराम जयसवाल अनाथालयलाई ठूलो आर्थिक सहयोग प्रदान गरेको छ ।
मङ्गलवार आयोजित एक कार्यक्रममा नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले अनाथालयलाई ५ लाख रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् । सहयोग नगरपालिकाको संस्थागत अनुदान कार्यक्रमअन्तर्गत प्रदान गरिएको हो ।
अनाथालयमा आश्रित बालबालिकाहरूको शिक्षा, खानपान र आधारभूत सुविधा व्यवस्थापनमा यो रकम उपयोगी हुने अपेक्षा गरिएको छ ।
नगरप्रमुख जयसवालले भने, "हामीले विगतका वर्षहरूमा जस्तै यस पटक पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अनाथालयलाई सहयोग गरेका छौँ । यहाँका अनाथ र असहाय बालबालिकाको उज्ज्वल भविष्य हाम्रो लक्ष्य हो ।"
जयसवालले अनाथालयको सम्मान र संरक्षणका लागि निरन्तर सहयोगको प्रतिबद्धता पनि व्यक्त गरे । उनले थपे, "हाम्रो प्रयास अनाथालयसँगै नगरको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासमा पनि केन्द्रित छ।" नगरप्रमुखको यो सक्रियता र विकासप्रतिको लगावले उनलाई स्थानीयवासी निकै लोकप्रिय बनाएको छ ।