रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद खड्काले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय, रौतहटले आयोजना गरेको पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारकर्मीहरूसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे।
प्रजिअ खड्काले राष्ट्रसेवक कर्मचारीहरू निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै भने, “जनतासँग प्रत्यक्ष सम्पर्क सञ्चारकर्मीहरूसँग हुने भएकाले दुवै पक्षको सहकार्यले जिल्लामा अमनचयन र शान्ति सुरक्षामा सुधार ल्याउन मद्दत पुग्छ।”
रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा नियुक्त भएका खड्काले आफू सर्लाहीका बासिन्दा भएको नाताले यहाँको समाज, रहन-सहन र समस्यासँग परिचित रहेको बताए। उनले भने, “म स्टन्टबाजी गर्ने पक्षमा छैन, परिणाममुखी काम गरेर देखाउने पक्षमा छु।”
खुला सीमाना रौतहटको प्रमुख सुरक्षा चुनौती भएको उल्लेख गर्दै खड्काले नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष सक्रियताले सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए।
उनले गौरको राईसमिल जग्गा विवाद गम्भीर रूपमा लिएको उल्लेख गर्दै, ‘म रहुन्जेल त्यहाँ कुनै चलखेल हुन दिइने छैन’ भनी ठोकुवा गरे।
नेपाल पत्रकार महासंघ, रौतहटका अध्यक्ष सञ्जय कार्कीले प्रशासन र सञ्चारकर्मीबीचको सहकार्यले समाजलाई सही सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
पत्रकार रमेश तिमलसिनाले रौतहटको उत्तरी भेगका जनताले राहदानी बनाउन समस्या भोगिरहेको बताउँदै प्रशासनले यस विषयमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा कान्तिपुर दैनिकका उपसम्पादक शिव पुरी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रेमचन्द्र झा, पूर्व अध्यक्ष शैलेन्द्र कुमार गुप्ता, महासंघका सचिव गौतम श्रेष्ठ, महिला उपाध्यक्ष बिना राउत, कोषाध्यक्ष सञ्जय कुमार सहनी लगायत पत्रकारहरूको उपस्थिति थियो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनिष झा, नायब सुब्बा रामनरेश साह लगायतका कर्मचारीहरू पनि कार्यक्रममा सहभागी थिए।