रौतहट । वृन्दावन नगरपालिकाका मेयर विनोद पटेलले नगरको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउन प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको योगदान र भूमिकालाई उच्च प्रशंसा गरेका छन् ।
शनिवार पत्रकारहरूसँगको कुराकानीमा मेयर पटेलले विगतमा योग्य, अनुभवी र दक्ष प्रशासकको अभावमा नगरपालिकाको विकास कार्यमा ठूलो बाधा पुगेको स्मरण गरे । उनले भने, “पहिले नीति–नियम निर्माण गर्न र विकासका योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन निकै कठिनाइ भोग्नुपरेको थियो । तर, सङ्घीय सरकारको मन्त्रालयले उपसचिव खिम बहादुर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा यहाँ पठाएपछि हामीले ठूलो सहयोग र राहत महसुस गरेका छौँ ।”
मेयर पटेलले रौतहट जिल्लाका विभिन्न नगरपालिकाहरूमा देखिएको प्रशासनिक अभ्यासको तुलना गर्दै भने, “जिल्लाका कतिपय मेयरहरूले सुब्बा, शिक्षा वा स्वास्थ्य क्षेत्रका कर्मचारी वा आफ्ना नातेदारलाई निमित्त प्रमुख बनाएर काम चलाइरहेका छन् । यो कुनै लोभलालचले हो वा अन्य कारणले, त्यो थाहा छैन । तर, हामीले कानुनको पालना गर्दै उपसचिव स्तरको योग्य प्रशासक ल्याएका छौँ । उपसचिव भुजेलको नेतृत्वमा नगरपालिका सञ्चालन भइरहँदा विकास र निर्माणका कार्यले तीव्रता पाएको छ । विभिन्न नीति निर्माणदेखि दीर्घकालीन योजनाहरू बनाउने काम समेत प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । यो परिवर्तन र प्रगति हाम्रा लागि गर्वको विषय बनेको छ ।”
उनले उपसचिव भुजेलको कार्यशैली र नेतृत्व क्षमताको प्रशंसा गर्दै थपे, “उहाँमा स्थानीय जनतासँग समन्वय गरेर योजनाहरूलाई कार्यान्वयनमा लैजाने अद्भुत क्षमता छ। अहिले नगरपालिकाले प्रदान गर्दै आएका सेवाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँले महत्त्वपूर्ण भूमिका खेलिरहनुभएको छ ।”
मेयर पटेलले भुजेलको प्रशासनिक कुशलताले नगरपालिकाको विकासमा स्थायित्व र गति प्राप्त भएको बताउँदै सङ्घीय सरकारसँग विशेष आग्रह गरे । उनले भने, “वृन्दावन नगरपालिकामा प्रशासनिक स्थायित्व कायम राख्न र विकासका योजनाहरूलाई दिगो रूपमा कार्यान्वयन गर्न उपसचिव भुजेललाई यहाँ निरन्तरता दिनुपर्छ। यो हाम्रो नगरको प्रगति र समृद्धिका लागि आवश्यक छ ।”