पपुआ न्यू गिनीले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न यो कदम चालिएको अधिकारीहरूले बताएका छन्।
सोमबार लगाइएको यो प्रतिबन्धपछि विपक्षी सांसद र आलोचकहरूले सरकारको आलोचना गरेका छन्। उनीहरूले यसलाई मानव अधिकार हनन भनेका छन्। प्रहरी मन्त्री पिटर सियामालिली जुनियरले भने सरकारले वाक स्वतन्त्रता दबाउन नखोजेको बताएका छन्।
सर्वसाधारणलाई हानिकारक सामग्रीबाट जोगाउनु सरकारको दायित्व भएको उनको भनाइ छ। पपुआ न्यू गिनीमा फेसबुक सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल हो। साना व्यवसायहरू पनि बिक्री बढाउन यसमा निर्भर छन्।
फेसबुक प्रतिबन्धपछि धेरैले देश डरलाग्दो अवस्थामा पुगिरहेको र निरङ्कुशता रोक्न कसैसँग तागत नभएको आशयसहितका पोस्टहरू गरेका छन् ।