×

रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा सङ्घीयता लागू भएपछिको करिब ६ वर्षसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतकै नेतृत्वमा काम चलिरहेको थियो । यत्रो लामो अवधिमा विकासका कार्यहरू सुस्त गतिमा अघि बढ्दा स्थानीय जनताको गुनासो बढ्न थालेको थियो ।

नगर प्रमुख विनोद कुर्मीले जनताको असन्तुष्टिलाई गम्भीरतापूर्वक लिँदै नगरपालिकामा उपसचिव ल्याउन कडा पहल गरेको बताएका छन् ।

नगर प्रमुख कुर्मीका अनुसार, वृन्दावन नगरपालिका लामो समयसम्म विकास विरोधी तत्त्वहरूको प्रभावमा परेको थियो, जसले जनताको भोकमरी र समस्याहरूप्रति पर्याप्त ध्यान दिन सकेन । तर, हालै उपसचिवको नियुक्तिपछि विकासका कामले गति लिएको उनको भनाइ छ । उनले भने, “उपसचिवको आगमनले हाम्रा योजना र कार्यान्वयनमा तीव्रता आएको छ । अब हामी जनताको हितमा प्रभावकारी रूपमा काम गर्न सक्षम भएका छौँ ।”

कुर्मीले सङ्घीय मामिला मन्त्रालयका केही कर्मचारी र विकास विरोधी तत्त्वहरूले नगरपालिकालाई अस्तव्यस्त बनाउन संयुक्त प्रयास गरिरहेको आरोपसमेत लगाए । उनले नगरवासीलाई यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन् । साथै, उनले सङ्घीय मामिला मन्त्री राजकुमार गुप्तालाई धन्यवाद दिँदै उपसचिवको नियुक्तिले जनप्रतिनिधिहरूको काम सहज भएको र नगरपालिकाको सुरक्षित भविष्यका लागि यो कदम महत्त्वपूर्ण रहेको बताए ।

यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित नगरपालिकाले विकास र जनकल्याणका कार्यमा विभिन्न अवरोधको सामना गर्नुपरेको थियो । कुर्मीले विगतका कमजोरीहरूलाई औँल्याउँदै भने, “पूर्व मेयरको कार्यकालमा भ्रष्टाचार र विनाशले प्राथमिकता पाएको थियो, जसका कारण अहिलेसम्म नगरपालिकाको कार्यालय भाडाको भवनमा चलिरहेको छ । तर, हामीले टेन्डर प्रक्रियामार्फत नयाँ भवन निर्माणको काम अघि बढाइसकेका छौँ । छिट्टै नै हाम्रो आफ्नै भवनमा कार्यालय सञ्चालन हुनेछ ।”

वृन्दावन नगरपालिका अब विकास र जनकल्याणका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको छ । नगर प्रमुख कुर्मीको नेतृत्वमा सुरु भएका यी प्रयासले स्थानीय जनतामा आशा जगाएको छ। उपसचिवको नियुक्ति र नयाँ भवन निर्माणजस्ता कदमले नगरपालिकाको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गरिएको छ ।

Back to top