वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधी अभावको समस्या देखिएको छ ।
सरकारले निःशुल्क, स्वास्थ्य बिमा मार्फत र सुलभ दरमा उपलब्ध गराउने भनिएका औषधीहरू अस्पतालको फार्मेसीमा नपाइँदा बिरामी र सेवाग्राहीहरू मर्कामा परेका छन् ।
आकस्मिक कक्षदेखि बहिरङ्ग विभागसम्म चिकित्सकले लेखिदिएका अत्यावश्यक औषधीहरू समेत फार्मेसीमा उपलब्ध नहुँदा बिरामीका आफन्तहरू महँगो मूल्यमा बाहिरका पसलबाट औषधी किन्न बाध्य भएका छन् । औषधी अभावको समस्याले अस्पतालको सेवाप्रति नै प्रश्न चिह्न खडा भएको छ भने अस्पताल प्रशासनमाथि गम्भीर अनियमितताको आरोप लागेको छ ।
वीरगञ्ज-११ का सनोज महतोले आफ्नो आमाको उपचारका लागि चिकित्सकले लेखिदिएको औषधी अस्पतालको फार्मेसीमा नपाएको गुनासो गरे । “स्वास्थ्य बिमा गरेकै छौँ, तर सरकारी अस्पतालमा औषधी पाइँदैन । बाहिरबाट महँगोमा किन्नुपर्यो,” उनले भने । उनले औषधी अभावको अवस्था दुर्भाग्यपूर्ण भएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने माग गरे ।
त्यस्तै, पर्साको विन्दवासिनी गाउँपालिका-४ का वासुदेव चौरसियाले छोरीको उपचारका लागि आकस्मिक कक्षमा आएको बेला अत्यावश्यक औषधी समेत फार्मेसीमा नभएको बताए । “फार्मेसी त नाम मात्रको छ, बिरामीलाई झुक्क्याउन काउन्टर राखिएको जस्तो लाग्छ,” आरोप लगाउँदै उनले भने । बिरामीलाई अस्पतालमा छोडेर टाढा गएर औषधी किन्नुपर्दा थप सास्ती भएको उनले दुखेसो पोखे ।
स्थानीय र अस्पतालका कर्मचारीहरूले औषधी अभावको पछाडि ठूलो अनियमितता भएको दाबी गरेका छन् । अस्पतालले निजी औषधी पसलहरूसँग सेटिङ गरेर जानीजानी अभाव सिर्जना गरेको स्थानीयको आरोप छ । नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने, “डा. चुमनलाल दासले मेसुको जिम्मेवारी सम्हालेपछि औषधी अभावको समस्या झनै बढेको छ । उनी निजी पसलहरूसँग कमिसन लिएर कृत्रिम अभाव सिर्जना गर्छन् ।” उनले डा. दासको संरक्षणमा अस्पतालको औषधीको फर्जी बिल बनाएर बाहिर बिक्री गर्ने गरिएको समेत खुलासा गरे । यस्तो गम्भीर आरोपले अस्पतालको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।
आकस्मिक कक्षमा अत्यावश्यक औषधीको अभावले बिरामीको स्वास्थ्य जोखिममा परेको छ । चिकित्सकले लेखिदिएका औषधी तत्काल उपलब्ध नहुँदा उपचारमा ढिलाइ हुने र बिरामीका आफन्तले बाहिर खोज्नुपर्ने बाध्यताले थप तनाव सिर्जना गरेको छ । स्वास्थ्य बिमाको सुविधा भए पनि त्यसको उपयोग गर्न नपाउँदा सेवाग्राहीमा निराशा बढेको छ ।
सेवाग्राही र स्थानीयले औषधी अभावको समस्याको तत्काल समाधानका लागि सम्बन्धित निकायको हस्तक्षेप आवश्यक रहेको बताएका छन् । अस्पताल प्रशासनको जबाफदेहिता, औषधी आपूर्तिको पारदर्शिता र अनियमितताको छानबिन गर्नुपर्ने माग उठेको छ । नारायणी अस्पताल जस्तो ठूलो सरकारी स्वास्थ्य संस्थामा यस्तो अवस्था हुनुले सरकारको स्वास्थ्य नीतिमाथि नै प्रश्न उठेको छ ।
औषधी अभावको विषयमा अस्पतालको फार्मेसी इन्चार्जले बोल्न अस्वीकार गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दास अनुपस्थित रहेको कारण उनको भनाइ लिन सकिएन । निमित्त मेसु डा. चित्तरञ्जन साहले भने यस विषयमा बोल्ने अधिकार आफूसँग नभएको बताउँदै प्रतिक्रिया दिनबाट पन्छिन खोजे । प्रशासनको मौनताले सेवाग्राहीको आक्रोश थप बढाएको छ ।