×

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका – ६ बागेश्वरी तित्रौनामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बिजोग अवस्थामा पुगेको छ ।

दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको अभाव र उपकरणहरू पनि बिग्रिएर थन्किएका कारण प्राथमिक स्वास्थ्य केन्द्रको अधिकांश सेवा ठप्प छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबमा रहेको रगत परीक्षण गर्ने मेसिन तीन महिनादेखि बिग्रिएर थन्किएको छ । उक्त मसिन मर्मतका लागि कसैले चासो नै देखाएको छैन । ल्याबमा अहिले कीटको भरमा सीमित रोगहरूको मात्रै परीक्षण भइरहेको छ । मेसिन बिग्रिएको र त्यसको मर्मत नगर्दा मेसिनबाट गरिने परीक्षण सेवाहरू ठप्प रहँदा सेवाग्राहीहरू समस्यामा परेका छन् ।

यस्तै एक्स-रे मेसिन पनि चार महिनादेखि विद्युत् समस्याका कारण बन्द अवस्थामा छ । स्वास्थ्य केन्द्रको विद्युत् महसुल करिब पाँच लाख रुपैयाँ बक्यौता रहेकोले विद्युत् प्राधिकरणले थ्री फेज लाइन काटेर सिङ्गल फेज लाइन मात्र चालु राखेकोले एक्स-रे, इसिजी लगायतका सेवाहरू चार महिनादेखि बन्द छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलेदेखि नै जनशक्तिको अभाव रहेको र त्यसमाथि प्राधिकरणले सिङ्गल फेज लाइन मात्र दिँदा थ्री फेज लाइनबाट चल्ने उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेब चन्द्रशेखर चौधरीले बताए ।

चार महिनादेखि मेसिन बिग्रिएको र विद्युत् समस्याले गर्दा केन्द्रमा अहिले सेवाग्राहीको चाप पनि घटेको उनले बताए । पर्सागढी नगरपालिका–६ का स्थानीय कन्हैया यादवले आवश्यक सेवा नपाएर स्वास्थ्य केन्द्रमा बिरामीहरू आउनै छाडेको र आउने बिरामीहरू पनि सेवा नपाएपछि वीरगञ्ज धाउन बाध्य भएको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चौधरीले नगरपालिकालाई केन्द्रका समस्याबारेमा जानकारी गराइसकेको बताए । तर समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल नभएको गुनासो उनले गरे ।

Back to top