बबी स्यान्ड्स ती योद्धाको नाम हो, जसले आफ्नो राजनीतिक अधिकार प्राप्तिको लागि ब्रिटिश जेलभित्र ६६ दिनसम्म आमरण अनसन अर्थात भोक हड्ताल गरे । आयरल्याण्डको एकीकरण अनि ब्रिटिश साम्राज्यवादको आधिपत्यको अन्त्यको माग गर्दै सशस्त्र संघर्षमा उत्रिएका आइआरएका नेता स्यान्ड्सको माग त्यस्तो पूरा गर्नै नसकिने उत्पात खालको पनि थिएन । उनको मुख्य माग आस्थाका बन्दीहरुलाई अन्य अपराधी सरह हैन, राजनीतिक बन्दीको रुपमा व्यवहार गरिनु पर्ने भन्ने थियो । तर विश्वभरि प्रजातन्त्रको दुहाइ दिने र मानवाधिककारको पाठ पढाउन नथाक्ने ब्रिटिश सरकारले उनको न्यायोचित मागहरुलाई सुनुवाइ गर्न पटक्कै जरुरी ठानेन ।फलत: भोक हड्तालकै बीच बबी स्यान्ड्सको दु:खद निधन भयो । एक किसिमले भन्दा उनको हत्या भयो । निर्लज्ज ब्रिटिश सरकारले त्यसको पनि खिल्ली उडाउँदै प्रचार गर्यो– भोक हडताल गरेर ज्यान त्याग्नु आइरिसहरुको परम्परा नै हो !
५ मे, १९८१ का दिन बेलफास्ट बाहिर रहेको लङ केस झ्यालखानामा देहत्याग गर्दा उनको उमेर २७ वर्ष मात्र थियो । त्यसबेला उनले लगभग ९ वर्षको जेल सजाय काटिसकेका थिए । उनको एउटै दोष– उनले आफ्नो मातृभूमिको एकीकरण तथा विभेदकारी–दमनकारी व्रिटिशहरुको आधिपत्यबाट मुक्तिको लागि संघर्षरत आइआरएको युद्धमा आफूलाई होमेका थिए र पक्राउ परेपछि जेलभित्रको अमानवीय व्यवहारका विरुद्ध तथा आफ्नो राजनीतिक अधिकारको लागि अथक आवाज उठाएका थिए ।
शुरुआती जीवन
बबी स्यान्ड्सको जन्म सन् १९५४ मा डनमरीमा भएको थियो। पछि उनका पिता जोन र माता रोजालिन स्यान्ड्स उत्तरी बेलफास्ट बाहिर रहेको काउन्टी एन्ट्रिमको न्यूटाउनएबीको एबट्स क्रस नाम गरेको बस्तीमा बसाइसराइ गरेका थिए ।
चार सन्तानमध्येका जेठा बबी स्यान्ड्स हुर्किएको बेलफास्टको पश्चिमी भाग, विशेष गरी ट्विनब्रुक क्षेत्रमा क्याथोलिकहरु अल्पसंख्यक थिए भने प्रोटेस्टेन्ट मान्नेहरु बहुसंख्यक । क्याथोलिकहरूमाथि प्रोटेस्टेन्टहरुको भेदभाव र दमन व्यापक थियो र त्यसमा राज्यले पनि आँखा चिम्लने गर्थे । खासमा क्याथोलिकहरु बेलायतबाट स्वतन्त्रता तथा एकीकृत आयरल्याण्ड निर्माणको पक्षमा थिए भने प्रोटेस्टेन्टहरु बेलायतको अधीनमा बस्ने । यसले ती दुई सम्प्रदायबीच नराम्ररी द्वन्द्व चर्किने गरेको थियो । क्याथोलिक परिवारमा जन्मेका बबी स्यान्डसलाई यस कुराले नराम्ररी पिरोल्यो ।
छिमेकीहरुबाट हुने गरेको तारन्तार दुर्व्यवहार र धम्कीका कारण उनका परिवारले सन् १९६१ मा आफ्नो बस्ती छाड्न बाध्य भए । उनीहरु छ महिनासम्म साथीहरुको शरणमा बसे । त्यपछि नजिकैको राथकुल विकास क्षेत्रमा उनीहरुको बसोबासको प्रबन्ध भयो । त्यहाँका ३० प्रतिशत जनसंख्या क्याथोलिक थिए ।
त्यहाँ स्टेला मारिस नामक एउटा फुटबल क्लब थियो, जहाँ क्याथोलिक–प्रोटेस्टेन्ट दुवै आस्थावालाहरु मिलेर खेल्थे । स्यान्ड्स पनि त्यस क्लबको सदस्य बने र फुटबल खेल्न थाले । तर स्टेला मारिस क्लब बन्द भएपछि उनीहरु नजिकैको ग्रीन क्यासलमा रहेको स्टार अफ द सी नाम गरेको क्लबमा गएर खेल्न थाले ।
१९६६ तिर आइपुग्दा आयरल्याण्डमा साम्प्रदायिक हिंसा निक्कै बढ्यो । राथकुल र समग्र बेलफास्ट पनि त्यस हिंसाको चपेटामा पर्यो । अल्पसंख्यक क्याथोलिक समुदाय निरन्तर राज्य संरक्षित प्रोटेस्टेन्टहरुबाट हुन सक्ने आक्रमणको भयमा बाँच्न बाध्य थिए । यस क्रममा स्यान्ड्सका प्रोटेस्टेन्ट साथीहरुले उनीसँग बोलचाल र उठबस बन्द गरे । यो साम्प्रदायिक विभेदले उनलाई निक्कै तीतो अनुभव गरायो ।
१९६९ मा स्कुले पढाइ पूरा गरेर उनी न्यूटाउनएबी टेक्निकल कलेजमा भर्ना भए । त्यतिखेर उनी १५ वर्षको थिए । त्यसको १ वर्षपछि उनी उपयोगी सीप सिक्ने उद्देश्यले अलेक्ज्याण्डरको कोच वर्क्समा प्रशिक्षार्थीको रुपमा भर्ना भए । त्यहाँ १ वर्षा काम सिक्दा उनले प्रोटेस्टेन्ट सहकर्मीहरुबाट बारम्बार निक्कै दुर्व्यवहार र अपमान भोगे । कतिसम्म भने १९७१ तिर एकदिन उनी कामबाट फर्कंदै गर्दा उनकै साथीहरुले बन्दूक देखाएर 'अलेक्ज्याण्डरमा 'फिनियन स्कम'हरुलाई कुनै ठाउँ नरहेको' भन्दै काम छाडेर जान धम्क्याएका थिए । फिनियन स्कमको अर्थ हुन्छ- "घृणास्पद आयरिश राष्ट्रवादी वा क्याथोलिक व्यक्ति", जसले बेलायती शासनको विरोध गर्छ वा आयरिश स्वतन्त्रताको पक्ष लिन्छ। यो वाक्यांश विशेषतः १९६० देखि ९० को दशकसम्म उत्तरी आयरल्याण्डको राजनीतिक द्वन्द्वमा धेरै प्रयोग हुने गरेको थियो । त्यहाँका बेलायतसँग मिल्न चाहने बेलायत समर्थक संघवादी/प्रोटेस्टेन्ट समुदायले व्रिटिश आधिपत्यबाट मुक्त भएर एकीकृत आयरल्याण्ड पक्षधर/क्याथोलिक समुदायलाई अपमानजनक रूपमा यो शब्दको प्रयोग गर्ने गर्थे ।
यसरी निरन्तरको अपमान, हेपाइ र खेदाइले उनमा बेलायत समर्थक प्रोटेस्टेन्टहरुको उत्पीडनको एउटै मात्र विकल्प कट्टर र सशस्त्र प्रतिरोध हो भन्ने भावनालाई किशोरावस्थादेखि नै विकसित गराएको थियो ।
उत्तरी आयरल्याण्डमा चलिरहेको भेदभावको अन्त्यको माग गर्दै १९६८ मा प्रमुख क्याथोलिक नागरिक अधिकार आन्दोलनहरूको क्रममा सडक प्रदर्शन भए । तर राज्यले बलपूर्वक त्यसमाथि दमन गर्यो । अझ सन् १९६९ मा उत्तरी आयरल्याण्डमा दङ्गा रोक्ने नाममा ब्रिटिश फौज नै परिचालन गरियो । सेना परिचालनपछि क्याथोलिकहरुमाथि राज्यसत्ताको निर्मम दमन झनै बढेर गयो । यस्ता घटनाले उनको विद्रोही भावनालाई थप मलजल गरेको थियो । क्याथोलिकहरूविरुद्ध प्रोटेस्टेन्टहरुको उत्पीडनलाई राज्यद्वारा संरक्षित गरिने गरेको घटनाले उनले ब्रिटिश राज्यलाई "शत्रु"को रूपमा बुझ्न थाले।
ब्रिटिश आधिपत्यबाट उत्तरी आयरल्याण्डको स्वतन्त्रता र आयरल्याण्डको एकीकरणको लागि संघर्ष गरिरहेका आइआरए (Irish Republic Army- IRA–IRA) ले त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्न नसकिरहेको थिएन । आइआरएको सैद्धान्तिक जग मार्क्सवादी–समाजवादी रहेपनि शान्तिपूर्ण राजनीतिक परिवर्तनमा उसले जोड दिने गर्थ्यो । १९६८–६९ को शान्तिपूर्ण नागरिक आन्दोलनहरुमा भयानक दमन हुँदा पनि प्रतिरोध गर्न नसकेको भनी उ त्यसबेलामा मानिसहरुले आइआरएलाई Irish Republican Army हैन, I Ran Away भनेर गिज्याइरहेका थिए । त्यस अवस्थामा क्याथोलिक समुदायको रक्षा गर्ने, ब्रिटिश अधिपत्यविरुद्ध आक्रमण गर्ने तथा हतियारबन्द संघर्षको माध्यमबाट आयरल्याण्डलाई एकीकृत गर्ने वाचाका साथ आइआरएको मूल संगठनबाट फुटेर प्रोभिजनल आइआरए (Provisional IRA (Provisional Irish Republican Army)) को गठन भयो । त्यस घटनाले उनलाई दमनका विरुद्ध प्रतिरोधमा उठ्न हुटहुटी जागिरहेका बबी स्यान्ड्सलाई निक्कै प्रभावित तुल्यायो ।
आइआरएको सम्पर्कमा
राथकुलजस्तो प्रोटेस्टेन्ट बहुल क्षेत्रमा एक्लो नेसनलिस्टको रूपमा आइआरएमा सामेल हुनु सजिलो थिएन, तर दमनकारी अवस्था रहेकाले प्रतिरोधमा उत्रिने चाहनाले उनलाई लखेटिरह्यो । अपमान र उत्पीडनका बीच विद्रोहको भावना मनमा बोकेर ग्लन इन नाम एक पबमा बार म्यानको रुपमा काम गरिररहेको बेला बबी स्यान्ड्सको भेट आइआरएसँग सम्बन्धित एक व्यक्तिसँग भयो ।यो सन् १९७१ को अन्त्यतिरको कुरा हो । कुरै कुरामा उनले आइआरएको आन्दोलनमा सहभागी हुने चाहना व्यक्त गरे । ती व्यक्तिले राथकुलमा स्थिति निक्कै खराब रहेको र क्यथोलिकहरु एक्लिएको बताउँदै त्यसबारे राम्रो सोचविचार गर्न भन्छन् । तर दृढ निश्चय गरिसकेका बबी स्यान्ड्स आफ्ना अडान दोहोर्याइरहन्छ ।
एक दिनको कुरा हो, स्यान्ड्स फुटबल खेलिरहेका थिए । आइआएरसँग सम्बद्ध तिनै व्यक्ति आएर उनलाई राथकुलबाट ग्लेनगर्म्लीसम्म एउटा बन्दूक लैजाने जिम्मेवारी दिन्छन् । स्यान्ड्सका लागि त्यो अवसर ‘के खोज्छस् कानो आँखो’ भने झैं हुन्छ । उनी तुरुन्तै त्यो जिम्मेवारी बहन गर्न तयार हुन्छन् । उनी तत्क्षण नै खेल्न छाडेर बाहिर आउँछन्, लुगा फेर्छन् र बन्दूक बोकेर जिम्माको काम पूरा गर्न निस्कन्छन् । यसरी प्रोभिजनल आयरिश रिपब्लिकन आर्मीको स्वयंसेवक दस्ताबाट स्यान्ड्सको सक्रिय सहभागिताको शुरुवात हुन्छ ।
चाँडै नै स्यान्ड्सले अलगथलग भएर वरपरका क्षेत्रका अन्य स्वयंसेवकहरुसँग मिलेर काम गरिरहेका ६–७ जना युवाहरुलाई सहयोगी समूहमा भर्ना गर्न थाल्छन् । स्यान्ड्सलाई तिनीहरुको टोली प्रमुख तोकिइन्छ ।
१९७२ को जुन महिनामा स्यान्ड्सको घरमा प्रोटेस्टेन्टहरुको एक भीडले आक्रमण गरेर उनीहरुलाई बसाइसराइ गर्न बाध्य तुल्याउँछ । उनीहरु वेस्ट बेलफास्टको क्याथोलिक क्षेत्र ट्विनब्रुकमा फर्कन्छन् । त्यसको एक वर्षको समयावधिमा अधिकांश क्याथोलिक परिवारहरु हिंसा र धम्की खप्न नसकेर राथकुल छाडिसकेका हुन्छन् ।
सन् १९७२ को वर्ष उत्तरी आयरल्याण्डमा सबैभन्दा हिंसात्मक घटनाहरू भएका थिए। उक्त वर्ष करिब ५०० व्यक्तिहरू मारिएका थिए । त्यसमा २५० भन्दा बढी नागरिक र १५० सुरक्षा बलका सदस्यहरू थिए भनिन्छ। सोही सालको ३० जनवरीमा पाराट्रुपर्सले १३ निर्दोष क्याथोलिक नागरिक अधिकार प्रदर्शनकारीलाई मारेको घटनाबाट हिंसाका घटनाहरु शुरु भएको थियो ।
प्रोभिजनल आयरिस रिपब्लिकन आर्मीको ‘लुटपाट’ गतिविधिमा सहभागी भएको र हतियार राखेको अभियोगमा बबी स्यान्ड्स सन् १९७२ को अक्टोबरमा पक्राउ परे । उनलाई चार थान पेस्तोल घरमा राखेको अभियोग लगाइयो । पक्राउ गरिएपछि उनलाई सोधपुछको क्रममा निर्मम यातना दिइयो । उनले आफू प्रोभिजनल आइआरएको सदस्य भएको स्वीकारे र "योजना र कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी" आफूले लिएको बताए, तर आफ्ना सहयोद्धाहरु कसैलाई झोसपोल गरेनन्। । उनले कानुनी सहायताहरु लिन अस्वीकार गरे र बेलायती अदालतलाई मान्यता दिन मानेनन्। अप्रिल १९७३ मा उनलाई ‘चोरी र अवैध हतियार राखेको’ अभियोगमा पाँच वर्ष तथा आइआरएको सदस्यताका लागि तीन वर्ष कैदको सजाय सुनाइयो।
त्यस समय उनी १८ वर्षका थिए । उनलाई लङ केश जेलमा पठाइयो । जेलमा उनी लेखन कर्ममा सक्रिय बने । उनले कविता, गीत, र लेखहरू प्रायः ट्वाइलेट पेपरमा लेख्थे। उनले "मार्सेला" उपनाममा लेखहरू हस्ताक्षर गर्थे । जेलभित्रै उनले शिक्षण, बहस, र गीत कार्यक्रमहरू जस्ता गतिविधि पनि आयोजना गर्थे। अप्रिल १९७६ मा उनी रिहा भए । रिहा भएपछि उनी वेस्ट बेलफास्ट स्थित परिवारमा फर्केर प्रोभिजनल आइआरएमा पुन: सक्रिय भए ।
स्यान्ड्सले १९७३ मा जेलमै रहँदा जेराल्डिन नोएडसँग विवाह गरेका थिए । उनीहरुबाट सोही वर्ष छोरा गेरार्ड स्यान्ड्स जन्मिए।तर थोरै समयमै पत्नी र छोरा इङ्गल्यान्ड सरे र स्यान्ड्ससँग सम्पर्क टुट्यो।
१४ अक्टोबर १९७६ मा डनमुरीमा रहेको बाल्मोरल फर्निचर कम्पनीको शो रुम वम बिस्फोटनले ध्वस्त भयो । आइआएरएले कार्यान्वयन गरेको त्यस बमकाण्डको योजनाकार बबी स्यान्ड्स र जो म्याकडोनेल हुन्छन् । घटनाको लगत्तै पुलिससँगको गोलाबारीमा उनका दुईजना साथीहरु सिएमस मार्टिन र गेव्रियल कोर्बेट घाइते हुन्छन् । तिनीहरुलाई छाडेर कारमा भाग्न खोज्दै गर्दा स्यान्ड्स, म्याकडोनेल, सिएमस पिनुकेन र सीन ल्याबरी पक्राउ पर्छन् । उनीहरुका साथमा रिभल्वर पनि फेला परेको हुन्छन् । अवैध हतियार राखेको अभियोगमा उनीहरुलाई ७ सेप्टेम्बर १९७७मा १४ वर्षको जेल सजाय सुनाइन्छ । अनौठो कुरा के हुन्छ भने, उनीहरुलाई विस्फोटनसम्बन्धी घटनामा मुछेर कुनै अभियोग लगाइएको थिएन ।
दोस्रो जेल जीवन र सांसद पदमा विजय
स्यान्ड्सलाई लङ केश जेल (पछिको मेज जेल) मा थुनियो। जेल जीवन कठोर थियो । उनलाई थुनिएको क्रुम्लिन रोडस्थित जेलको कोठामा एउटा खाट, डसना, दिसा फाल्ने भाडो र पानीको भाँडो मात्रै थियो । वास्तवमा त्यो बेलायती सरकारका लागि ‘आतंकवादी’ आइआरएका कैदीहरुलाई नै थुन्नका लागि विशेष सुरक्षाका साथ बनाइएको जेल थियो । कतिसम्म भने उनलाई रेडियो, किताब र अन्य व्यक्तिगत सामानहरु राख्न अनुमति दिइएन । पुस्तकका नाममा बाइबल र केही क्याथोलिक पुस्तिकाहरु मात्रै दिइएका थिए । स्यान्ड्सलाई एउटा सामान्य अपराधीसरह व्यवहार गरिएको थियो ।
जेल जीवनले बबी स्यान्ड्सलाई ‘एक विद्रोही’ बाट ‘एक राजनीतिक विचारक’ मा समेत रूपान्तरण गर्यो। उनले जेलभित्र लेखनमार्फत आत्मनिरीक्षण, वैचारिक अध्ययन, ऐतिहासिक विश्लेषण र राजनीतिक चेतनाको अभ्यास थाले। जेलको बसाइको क्रममा उनमा संघर्षलाई केवल सैन्य मार्ग नभएर वैचारिक, सामाजिक, सांस्कृतिक, र निर्वाचनमार्गबाट पनि अघि बढाउनुपर्ने मान्यता विकास भयो । उनले ब्रिटिश अत्याचारी शासनविरुद्ध जेलभित्रै कैदीहरूलाई संगठित गर्न थाले ।
आफूहरुलाई सामान्य अपराधी कैदी सरह गरिएको व्यवहारको विरुद्धमा बबी स्यान्ड्स र उनका साथीहरुले बारम्बार आवाज उठाए । आफूहरु राजनीतिक बन्दी भएकोले जेलको पोशाकको सट्टा घरबाट ल्याएको लुगा लगाउन पाउनु पर्ने माग गरे । उनीहरुको मागको सुनुवाइ भएन । उल्टै जेल प्रशासनले उनीमाथि बर्बर व्यवहार गर्यो । जेल पोशाक लगाउन अस्वीकार गरेको नाममा बबी स्यान्ड्सलाई हरेक दिन बिहान ७:३० देखि बेलुकी ८:३० सम्म ओछ्यानबिना नाङ्गै अवस्थामा कोठामा राखिन थालियो । बाइस दिनसम्म उनलाई यसरी नै यातना दिइयो । बबी स्यान्ड्स लगायत अन्य बन्दीहरुले पनि आफ्नै लुगा लगाउने अधिकार खोसिएको विरोधमा जेलमा नाङ्गै बसेर प्रतिकार जनाए । उनीहरुले आफ्नो ओढ्नेले शरीर ढाक्ने गरे ।
विल्सनको सरकारले हटाएको विशेष श्रेणीको हैसियत पुन: स्थापना गरिनुपर्ने उनीहरुको माग थियो । आइआरएका बन्दी कैदीहरुको माग आफूहरुलाई पूर्ववत: राजनीतिक बन्दीको रुपमा लिइनुपर्ने र सोही अनुरुपको व्यवहार गरिनुपर्ने मागलाई खारेज गर्दै प्रधानमन्त्री ह्यारोल्ड विल्सनको सरकारले र "अपराधीकरण"को नीति लागू गरेका थिए । त्यस नीतिअनुसार, आइआरएका बन्दी कैदीहरुले पाउँदै आएको विशेष श्रेणीको स्थिति हटाएर उनीहरुलाई अन्य खुंखार अपराधी सरह नै व्यवहार गरिन थालिएको थियो । त्यसैको प्रतिरोध गर्ने क्रममा उनीहरुले राखेका पाँचवटा मुख्य मागहरु थिए– आफ्नै लुगा लगाउने अधिकार, जेलको काम नगर्ने, आफ्नै अध्ययन व्यवस्थापन गर्ने, घरबाट पठाइएका सामग्रीहरू प्राप्त गर्ने, र आफ्ना साथीसँग मेलमिलाप गर्ने स्वतन्त्रता।
उनलाई थुनिएको जेलमा सन् १९७६ मा ‘ब्ल्याङ्केट विरोध आन्दोलन’ र ‘ननुहाउने आन्दोलन’ शुरु भयो । जेलको पोशाक लगाउन अस्वीकार गरेर कैदीहरुले ब्लाङ्केट ओढे । कैदीहरुमाथि दिसा फाल्न बाहिर जाँदा भएको आक्रमणको विरोधमाउनीहरुले दिसा फ्याँक्न अस्वीकार गरे, कोठाको भित्तामा दिसा पोते र स्नान गर्न अस्वीकार गरे । त्यस आन्दोलनलाई ‘डर्टी’ वा ‘नो-वाश’ विरोध भनेर चिनिन थालियो।
उनीहरुको मागको सुनुवाइ नभएपछि र जेल बाहिर पनि खासै त्यसबारे चासो नदिइएको पाइएपछि अन्तिम अस्त्रको रुपमा थुनुवाहरुले राजनीतिक पहिचानको माग र आफूहरुमाथि अन्य सामान्य अपराधी सरह गरिने व्यवहार रोकिनु पर्ने माग गर्दै आमरण अनसन समेत बसे । त्यसले आफूहरुको संघर्षलाई बाह्य समर्थन प्राप्त हुने र नयाँ कन्जरभेटिभ प्रधानमन्त्री मार्गरेट थ्याचरलाई सम्झौतामा बाध्य पार्ने उनीहरुको आशा थियो ।
सात जना बन्दीहरूले २८ अक्टोबर १९८० मा खाना खान अस्वीकार गरेर आमरण अनसनको शुरुवात गरे । त्यो अनसन ५३ दिनसम्म चलेपछि असफलतामा टुङ्गियो । भनिन्छ, अनसनकारीहरुलाई एमआई६ का अधिकारी माइकल ओट्लीले सहजीकरण गरेर उनीहरुको माग पूरा गरिने र त्यसमा प्रधानमन्त्री थ्याचरले समेत स्वीकृति दिएको बताएर अनसन तोड्न लगाइएको थियो । तर उनीहरुको मागको सुनुवाइ भएन । उनीहरुमाथिको व्यवहारमा कुनै परिवर्तन आएन । त्यस घटनाले स्यान्ड्सलाई निराश र आक्रोशित तुल्यायो ।
यसबीच सन् १९८० को अन्त्यतिर स्यान्ड्सलाई मेज जेलमा रहेका प्रोभिजनल आइआरएक कैदीहरुको कमाण्डिङ अफिसरको रुपमा चयन गरियो । उनलाई अघिल्लो आमरण अनसनमा सहभागी ब्रेन्डन ह्युजको उत्तराधिकारीको रुपमा त्यसरी चयन गरिएको थियो ।
त्यसपछि सन् १९८१ को मार्च १ दिनबाट बबी स्यान्ड्सले दोस्रो भोक हड्ताल शुरु गरे । उनीहरुले आइआरएका कैदीहरुको विशेषा श्रेणीको दर्जा खारेज भएको पाँचौं वार्षिकोत्सवको दिन पारेर यो दोस्रो भोक हडताल शुरु गरेका थिए । उनलाई उनका अन्य ९ जना सहयोद्धाहरुले पनिसाथ दिएका थिए । बबी स्यान्ड्सले दृढ्तापूर्वक भनेका थिए– यस पटकको भोक हड्ताल राजनीतिक बन्दीको दर्जा प्राप्त नभएसम्म वा मृत्यु नभएसम्म जारी रहनेछ । अघिल्लो भोक हडताल जस्तो यो अधुरो वा बीचैमा टुङ्गिने वाला छैन । उनले के पनि भनेका थिए भने भोक हड्तालको निर्णय उनी सम्बद्ध संगठन प्रोभिजनल आइआरए वा अरु कसैको हैन, त्यो पूर्ण रुपमा हड्तालमा संलग्न कैदीहरुको स्वविवेकमा आधारित छ ।
तर थ्याचरले उनीहरुको मागको सुनवाइ गर्न चाहेनन् । उनले घोषणा गरिन्– यो राजनीतिक मुद्दा होइन, अपराध भनेको अपराध नै हो ।
आइआरए पक्षबाट पनि कुनै सम्झौताको सम्भावना थिएन। फलत: आमरण अनसन जारी नै रह्यो ।
हडतालको क्रममा बबी स्यान्ड्सको स्वास्थ्यमा भयानक गडबडी देखापर्न थाल्यो । उनमा हात काँप्ने, शरीर हल्लिने र अनुहार फिक्का तथा गडेको हुने जस्ता लक्षणहरू देखिए। तर उनी मानसिक रूपमा दृढ र नियन्त्रित रहे । उनले कुनै पनि हालतमा हड्ताल रोक्न चाहेनन् । मृत्यु या मागको सम्बोधन– यो कुरामा उनी दृढ रहे ।
यसैबीच, एउटा रोचक घटना भयो । फर्मानाघ/साउथ टिरोनका सांसदको मृत्यु भएपछि उपचुनाव हुने भयो। गणतन्त्रवादी आन्दोलनले बबी स्यान्ड्सलाई उम्मेदवार बनाउने निर्णय गर्यो। कारागारमा रहेका बबीलाई आफूले जित्ने कुरामा कुनै आशा थिएन । त्यसैले उनले चुनावले आफ्नो भाग्य परिवर्तन नगर्ने बताएका थिए । तर, उनी सबैलाई अचम्भित तुल्याउँदै निर्वाचित भए । त्यो गणतन्त्रवादीहरू र उनीहरूको आन्दोलनका लागि ठूलो प्रतीकात्मक र राजनीतिक विजय साबित भयो। सरकारको अपेक्षा विपरीत, स्यान्ड्सले ८७% मतदानको सहभागितामा १,४४६ मतले चुनाव जितेर सबैभन्दा कान्छा सांसद बने ।
वास्तवमा, यो घटना आइआरएको संघर्षको इतिहासमा एउटा निर्णायक मोड सावित भयो, जसले उत्तर आयरल्यान्डको द्वन्द्वको दिशा परिवर्तन गरिदियो। स्यान्ड्सको निर्वाचन जितपछि, बेलायती सरकारले बेलायत वा आयरल्याण्डमा एक वर्षभन्दा बढीको जेल सजाय भोगिरहेका कैदीहरूलाई युकेको चुनावमा उम्मेदवार बन्नबाट रोक लगाउने Representation of the People Act 1981 लागू गर्यो । स्यान्ड्सको निर्वाचनको प्रतिक्रिया स्वरूप ल्याइएका उक्त कानूनले अन्य अनशनकारीहरूलाई हाउस अफ कमन्समा निर्वाचित हुनबाट रोकेको थियो।
भोक हडतालको दौरानमा बबी स्यान्ड्स र उनका सहयोद्धाहरुको अवस्था अत्यन्त नाजुक भयो। तर उनीहरु आफ्नो अन्तिम क्षणमा पनि लडिरहने प्रतिबद्धतामा दृढ रहे । अन्तत: मे ५, १९८१ मा बबी स्यान्ड्सको कारागारमा मृत्यु भयो। उनी निर्वाचित भएको एक महिनापछि, र ६६ दिनको अनशनपछि, सांसद बोबी स्यान्ड्सको मृत्यु भयो। उनका नौ अन्य सहयात्रीहरूको पनि आमरण अनशनको क्रममा मृत्यु भयो।
वास्तवमा यो उनको मृत्यु थिएन, मार्गरेट थ्याचरले नेतृत्व गरेको ब्रिटिश शासनले गरेको हत्या थियो । यो घटनाले उत्तरी आयरल्यान्ड र अन्तर्राष्ट्रिय रूपमा व्यापक जनप्रदर्शन र प्रतिक्रिया उत्पन्न गर्यो। बेलफास्टमा हजारौं मानिसहरू सडकमा ओर्लिए। थ्याचर सरकारले अनुमान गरेको थियो कि अनशनलाई थोरै समर्थन मात्र छ । तर उनको अन्त्येष्टिमा १ लाखभन्दा बढी मानिसहरू ट्विनब्रुकस्थित सेन्ट लुक्स क्याथोलिक चर्चदेखि स्यान्ड्सको शव यात्रा भएको मार्गमा लाइन लागेका थिए । त्यस घटनाले सरकारको अनुमानलाई गलत साबित गरिदियो । उनका शव पछाडि मार्च गर्नेहरूले लगाएका गगनभेदी नाराले भनिरहेको थियो–स्यान्ड्स शहीद हुन्, र मार्गरेट थ्याचर हत्यारिनी। स्यान्ड्स आयरिश रिपब्लिकनहरूको लागि सहिद बने, र उनको मृत्युको घोषणापछि उत्तर आयरल्याण्डका राष्ट्रवादी क्षेत्रमा केही दिनसम्म दंगा भयो। उनलाई ‘न्यू रिपब्लिकन प्लट’ मा अन्य ७६ जनासँगै गाडियो।
उनको र उनका सहयात्रीहरूको निधनले गहिरो प्रभाव पार्यो। आयरल्याण्डमा देखिएको जन प्रतिक्रिया कारण ब्रिटिश सरकारले रिपब्लिकन आन्दोलनलाई केवल अपराधी समूहको रूपमा चित्रण गर्न गाह्रो भयो। उनको निधनको खबरले विश्वभर प्रदर्शन गरियो र इटाली, भारत, पोर्चुगल, र इरानजस्ता मुलुकका संसदहरूले सहानुभूतिका प्रस्ताव पारित गरे। फिडेल कास्त्रोले उनको बलिदान क्राइष्टको तुलनामा अझ गहिरो भने। युरोपमा विरोध प्रदर्शनहरु भए । सोभियत संघको प्राव्दा पत्रिकाले यस घटनालाई "उत्पीडन, विभेद, आतंक र हिंसाको दुखद दस्तावेजमा थपिएको अर्को शोकपूर्ण अध्याय" भनेर उल्लेख गर्यो । फ्रान्सका धेरै सहर र नगरहरूमा स्यान्ड्सको नाममा सडकहरू नामाकरण गरिए ।अमेरिकामा पनि स्यान्ड्सको सम्मानमा ब्रिटिश जहाजहरुको २४ घण्टे बहिष्कार, आयरिस पबहरू दुई घण्टाका लागि बन्द गर्ने कामहरु भए । अझ न्यू जर्सी विधानसभाको तल्लो सदनले त ३४–२९ को मतले स्यान्ड्सको "साहस र प्रतिबद्धता" को सम्मानमा एक प्रस्ताव नै पारित गरेको थियो। पछि १९९७ मा कनेक्टिकटका हार्टफोर्डमा स्यान्ड्स र अन्य अनशनकारीहरूको सम्झनामा एक स्मारक नै पनि स्थापना गरिएको थियो । २००१ मा क्युबाको हाभानामा तथा २०२३ मेमा, रोड आइल्यान्डको प्रोभिडेन्समा स्यान्ड्स र अन्य अनशनकारीहरूको सम्झनामा एक स्मारक उद्घाटन गरिएको थियो ।
उता एशियामा पनि स्यान्ड्सको समर्थनमा विरोध प्रदर्शनहरु भए । सबैभन्दा रोचक विरोध इरानमा भयो । इरानका तत्कालीन राष्ट्रपति अबोलहसन बनिसद्रले स्यान्ड्सको परिवारलाई समवेदना सन्देश पठाए। इरानी सरकारले तेहरानस्थित बेलायती दूतावास रहेको विन्स्टन चर्चिल बुलेभार्ड सडकको नाम परिवर्तन गरी "बोबी स्यान्ड्स स्ट्रिट" राखिदियो । त्यसले गर्दा बेलायतीदूतावासले आफ्नो मुख्य प्रवेशद्वार फरदौसी सडकतर्फ सारेको थियो । यसो गर्नुको कारण–बेलायती दूतावासले आधिकारिक कागजातमा "बोबी स्यान्ड्स स्ट्रिट" लेख्नु नपरोस्। भन्ने नै थियो । ब्रिटिश दूतावासको कम्पाउन्डको पछिल्लो भित्तामा एउटा नीलो सेतो औपचारिक साइनबोर्ड राखिएको छ, जसमा फारसी भाषामा "बोबी स्यान्ड्स स्ट्रिट" र तीन शब्दमा व्याख्या गरिएको छ: "युद्धमा संलग्न आयरिश छापामार।"
इजरायलको रेगिस्तानी नाफा जेलमा बन्द प्यालेस्टिनी कैदीहरूले आयरिश जनतामाथि ब्रिटिश शासक वर्गले लादेको दमनकारी आतङ्ककारी शासनको विरुद्धको संघर्षमा ऐक्यबद्धता प्रकट गर्दै गोप्य पत्र पठाए । भारतको चर्चित पत्रिकार हिन्दुस्तान टाइम्सले ‘मार्गरेट थ्याचरले आफूजस्तै एक सांसदलाई भोकै मर्न दिइन्, जुन घटना "सभ्य मुलुकमा" पहिले कहिल्यै भएको थिएन’ भनेर लेख्यो ।
भारतीय संसदको माथिल्लो सदन राज्यसभामा विपक्षी सदस्यहरूले स्यान्ड्सलाई श्रद्धाञ्जलि दिँदै एक मिनेट मौन धारण गरे। यद्यपि त्यसमा सत्तारूढ कांग्रेस पार्टीले भाग लिएन। स्यान्ड्स र उनका अन्य अनशनकारीहरूको सम्मान तथा ब्रिटिश सरकारको विरुद्धमा विरोध र्यालीहरू आयोजना गरिए।
राजनीतिक प्रभाव
मृत्युलाई हाँसीहाँसी अँगालेका बबी स्यान्ड्सहरुको सहादतले आइआरएका कैदीहरु अपराधी होइन, राजनीतिक कैदी हुन् भन्ने कुरालाई जबरजस्त ढङ्गले स्थापित गर्यो । बबी स्यान्ड्सहरुको बलिदानीपछि आइरिस गणतान्त्रिक सेनाको (IRA) सदस्य संख्या, चन्दा संकलन, र अभियान तीव्र भयो।
यस घटनाले आइआरएको सैन्य तथा राजनीतिक प्रभावमा बढोत्तरी भयो । आइआरएसँगै आइरिस गणतन्त्रवादीहरुले चुनावमार्फत् शक्ति हासिल गर्ने रणनीति अपनाउन थाले । राजनीतिक विश्लेषकहरुका अनुसार, “बोबी स्यान्ड्सको निर्वाचनमा भएको विजयले नै आइआरए र सिन फेनलाई राजनीतिक आन्दोलनतर्फ रूपान्तरण गर्ने बाटो देखाइदिएको हो ।
बबी स्यान्ड्स अन्तर्राष्ट्रिय प्रतिरोधको प्रतीक बने। उनको उदाहरणले दक्षिण अफ्रिका र मध्य अमेरिका लगायतका स्वतन्त्रता सङ्घर्षहरूलाई प्रेरणा दियो। दशकौंपछि पनि उनका नाम प्रतिरोधको प्रतीकका रूपमा चिनिन्छ । टर्कीमा अनशनकर्ताहरूले उनलाई कोड नामका रूपमा प्रयोग गरेका छन्। बबी स्यान्ड्सलाई आफूलाई पटक–पटक पुनःनिर्माण गर्ने, नयाँ परिस्थितिमा चेतना र अभ्यास बढाउँदै घटनाहरूलाई ढाल्ने र इतिहास निर्माण गर्ने व्यक्ति मानिन्छ। उनले H-ब्लकभित्र प्रतिरोधको संस्कृति निर्माणमा केन्द्रिय भूमिका खेले। उनको मृत्युले तत्काल मागहरू पूरा गर्न नसके पनि उनको कार्य र बलिदानले ब्रिटिश आधिपत्यविरुद्धको आयरिस आन्दोलनलाई राजनीतिक र निर्वाचनात्मक हिसाबले सशक्त बनायो। विशेषतः उपनिर्वाचनमा उनको शानदार विजयले आयरिस आन्दोलनलाई निर्वाचन रणनीतितर्फ सोच्न प्रेरित गर्यो। स्यान्ड्सले पछि बनेको राजनीतिक व्यवस्थालाई समर्थन गर्थे वा गर्दैनथे, विशेषतः हिंसात्मक संघर्ष छोडेर निर्वाचनतर्फ रूपान्तरणलाई भन्नेबारे हाल उनका पूर्वसाथीहरूबीच बहस जारी छ । उनकी बहिनी बर्नाडेट स्यान्ड्स-म्याककेविटले भनेकी छन् कि उनी शान्ति प्रक्रियाबाट उत्पन्न राजनीतिक व्यवस्थाको लागि मरेका होइनन्। तथापि, स्यान्ड्सको सबैभन्दा बलियो अडान र उद्देश्य नै उत्पीडित जनताको प्रतिरोध अधिकारको रक्षा नै थियो।
जेलमा सुधार
स्यान्ड्सहरुको बलिदानीकै प्रतिफल थियो– थ्याचर सरकारले अनसनकारीहरुले उठाएका अधिकांश माग लागू गर्न बाध्य भए । बँचेका अनसनकारीहरुले ३ अक्टोबरमा अनसनको अन्त्य गरेलगत्तै कैदीहरूलाई आफ्ना कपडा लगाउन अनुमति दिइयो, आपसमा स्वतन्त्र रूपमा मेलमिलाप गर्न दिइयो, बढी भेटघाटको सुविधा दिइयो र जेलमा काम गर्नुपर्ने अवस्थाबाट मुक्त गरियो। यसरी अन्तत: बेलायती सरकार झुक्न बाध्य भयो । अनि एउटा भयावह मूल्यमा अनशनकारीहरूले विजय हासिल गरे ।
भोक हडतालको अन्त्य भएको एक महिनापछि, शिन फेइनको वार्षिक सम्मेलनमा, पार्टीका प्रचार निर्देशक डेनी मोरिसनले पहिलो पटक "द अर्मालाईट एन्ड बेलट बक्स" भन्ने नारालाई अघि सारे । यो नाराले चुनाव र सशस्त्र संघर्ष दुवैलाई समेट्छ । हिंसा र राजनीतिबीचको सम्मिश्रणको यो रणनीतिलाई आगामी १५ वर्षसम्म आइआरए र शिन फेइनले जारी राखे ।
त्यसको अर्को वर्ष अर्थात् १९८२ मा प्रोभिजनल IRA को सदस्यको रुपमा सन् १९७३ मा आयरिश अदालतमा गर्वका साथ उद्घोष गर्ने मार्टिन म्याकगिनेस उत्तरी आयरल्याण्ड एसेम्बलीमा निर्वाचित भए । त्यसैगरी, सन् १९८३ मा शिन फेइनका उपाध्यक्ष (सोही वर्ष उनी अध्यक्ष पनि बने) गेरी एडम्स वेस्टमिन्स्टरमा निर्वाचित भए। यो आइआरए/शिन फेइनले अपनाएको बेलट बक्सको नतिजा थियो । तर लगत्तै सन् १९८४ मा, जब आइआरएले ब्राइटनको ग्रान्ड होटलमा बम आक्रमण गरी अर्मालाईटको नीति परित्याग नगरेको कुरा व्यवहारमै देखाए । त्यहाँ जहाँ कन्जरभेटिभ पार्टीले आफ्नो वार्षिक सम्मेलन गरिरहेको बेला भएको उक्त घटनामा पाँचजना मारिए । भनिन्छ, थ्याचर पनि मुश्किलले बाँचे। त्यस घटनालाई भोक हडतालमा मारिएका कमरेडहरुको बदलाको रुपमा हेरियो ।
विस्तारै आइआरएले सशस्त्र संघर्षको सट्टा निर्वाचनलाई प्राथमिकता दिन थाले । १९९४ मा आइआरएले युद्धविरामको घोषणा गर्यो भने त्यसको ६ हप्तापछि पारामिलिटरीले पनि युद्धविरामको घोषणा गर्यो ।
आयरल्याण्डको टापुको सबैभन्दा शक्तिशाली आइआरए नेता मानिने मार्टिन म्याकगिनेस उत्तरी आयरल्याण्ड एसेम्बलीमा उपप्रथम मन्त्री बने र आफ्नो पुरानो कट्टर शत्रु इयान पेस्लीसँग सत्तामा सहभागी भए। पछि म्याकगिनेस विन्डसर क्यासलमा आयोजित रानीसँगको डिनरमा पनि सहभागी भए ।
यसरी बबी स्यान्ड्सहरुको आमरण अनसन र बलिदानी सहादतले आइआरएको संघर्ष र आयरल्याण्डको राजनीतिमा निर्णायक परिवर्तन गरिदियो । त्यसले बेलफास्टमा सत्तासाझेदारी गर्दै र डब्लिनमा ढोका ढक्ढक्याउँदै आइआरएलाई आयरल्याण्डको टापुको सबैभन्दा ठूलो राजनीतिक दल बनाएको छ।
शहीद कि आतंककारीको आरोपबीच नायकको रुपमा स्थापित
बोबी स्यान्ड्स गणतन्त्रवादीहरूका लागि उनी स्वतन्त्रताका शहीद र राजनीतिक नायक हुन्। युनियनिस्ट वा बेलायती दृष्टिकोणबाट हेर्दा उनी आपराधिक आतंकवादी हुन्।तर, यथार्थमा भन्दा उनी प्रतिरोधी आन्दोलनका महानायक हुन्। यस्तो महानायक जसले आफ्ना राजनीतिक सिद्धान्त आस्था, मान्यता र अधिकारका लागि मृत्यु वरणको कठोर बाटो रोजे तर तर झुक्न मानेनन् !
वास्तवमा भन्दा बबी स्यान्ड्स एक प्रभावशाली राजनीतिक कैदी, लेखक, नेता र प्रतिरोधी आन्दोलनका अन्तर्राष्ट्रिय प्रतीक पनि हुन् । उनको बलिदानले IRA को लडाइँलाई मानव अधिकार र नैतिकताको विमर्शमा परिणत गरे र आयरल्याण्डको हिंसात्मक परिस्थितिबीच शान्तिपूर्ण राजनीतिक रूपान्तरणको ढोका खोल्यो । उनको बलिदानले नै पछि गएर शान्ति प्रक्रिया सम्भव बनायो।