वीरगञ्ज । “जुन जोगी आए पनि कानै चिरेको” भन्ने नेपाली उखान नारायणी रङ्गशालाको वर्तमान अवस्थासँग ठ्याक्कै मेल खान्छ । सङ्घीय, प्रदेशदेखि स्थानीय तहका मन्त्रीहरू र जनप्रतिनिधिहरूको अवलोकन यात्रा रङ्गशालामा जारी छ—तर रङ्गशालाको अवस्था भने आज पनि उस्तै, टुटेको र फुटेको ।
हालै केही समययता नारायणी रङ्गशालामा मन्त्रीहरू र नेताहरूको बाक्लो आगमन, फोटोसेसन र अवलोकनको सिलसिला चलिरहेको छ । तर, भौतिक संरचना बिग्रिएको, दर्शकदीर्घा जीर्ण, खेल मैदान अव्यवस्थित र सुविधा विहीन रङ्गशाला यथास्थितिमा छोडिएको दृश्य देख्दा, रङ्गशाला आफैँ उनीहरूको आगमनप्रति मुस्कुराउँदै व्यङ्ग्य गरिरहेजस्तो प्रतीत हुन्छ ।
हाजिरीको पहिलो रेजाबाट स्वागत गरिएका नेताहरू, रङ्गशालाको अवस्था बुझ्न आएका कि केवल उपस्थित जनाउने परिपाटी पुरा गर्न, भन्ने प्रश्न उठ्न थालेको छ । स्थानीयवासीहरू, खेलप्रेमीहरू र खेलाडीहरू वर्षौँदेखि रङ्गशालाको पुनः निर्माण र स्तरोन्नतिको माग गर्दै आएका छन् । तर आश्वासन र अवलोकनका शृङ्खलाबाहेक ठोस काम नहुनुले राजनीतिक हाजिरीजस्तै रङ्गशालाको सुधार प्रयास पनि औपचारिकता जस्तो मात्र देखिएको हो ।
नारायणी रङ्गशाला कुनै समय देशकै मुख्य खेल मैदानहरूमध्ये एक थियो । तर आजको दिनमा, न मर्मत भएको छ, न पर्याप्त बजेट विनियोजन, न त स्पष्ट योजना नै प्रस्तुत गरिएको छ । सङ्घीय सरकारदेखि प्रदेश सरकारले समेत बारम्बार चासो देखाएको भए पनि परिणामको तहमा पुग्दा खाली हात देखिएको छ ।
स्थानीयवासीले रङ्गशालामा पुगेर मन्त्रीहरूले फोटो खिच्ने समारोह बारम्बार गरे पनि भौतिक पूर्वाधार सुधारका लागि केही नगरेको गुनासो गरेका छन्
अब खेलाडीहरू, नागरिक समाज र सरोकारवाला निकायहरूले सरकारलाई याद गराउन थालेका छन्—अवलोकन होइन, कार्यान्वयन चाहिन्छ ।