ओपनएआईको च्याटबोट च्याट-जीपीटी अहिले विश्वभर हरेक दिन २५० करोडभन्दा बढी प्रोम्प्ट (प्रश्न वा निर्देशन) को उत्तर दिइरहेको छ। तीमध्ये ३३ करोड प्रोम्प्ट मात्र अमेरिकाबाट आउने गरेका छन्।
डिसेम्बर २०२४ मा यो संख्या १०० करोड प्रतिदिन रहेकोमा पछिल्लो छ महिनामा यसको प्रयोग दोब्बरभन्दा बढी भएको छ।
एक्सिअसको रिपोर्ट अनुसार, च्याट-जीपीटी हरेक वर्ष ९१२.५ अर्ब प्रश्नहरूको उत्तर दिइरहेको छ। उता गुगलमा प्रति वर्ष ५ ट्रिलियन सर्च (अर्थात् करिब १,३७० करोड प्रति दिन) हुने गरेका छन्। ओपनएआईका प्रवक्ता रोब फ्रिडल्यान्डरले यी तथ्यांक पुष्टि गरेका हुन्।
हप्तामै ५० करोड प्रयोगकर्ता
हाल च्याट-जीपीटी मा करिब ५० करोड साप्ताहिक सक्रिय प्रयोगकर्ता छन्, जसमा अधिकांश फ्रि भर्सन प्रयोग गर्छन्। भारत र अमेरिका दुवै १६ प्रतिशत ट्राफिकका साथ च्याट-जीपीटीका सबैभन्दा ठूला बजार हुन्।
ब्राजिल, क्यानडा, र फ्रान्स पनि शीर्ष प्रयोगकर्ता मुलुकमा पर्छन्।
अधिकांश विद्यार्थीहरूले यसलाई अध्ययन, गृहकार्य र जटिल अवधारणाहरू बुझ्न प्रयोग गरिरहेका छन्। डिसेम्बर २०२४ मा साप्ताहिक प्रयोगकर्ता संख्या ३० करोड थियो।
अब ओपनएआई वेब ब्राउजरमै !
च्याट-जीपीटी बनाउने कम्पनी ओपनएआई छिट्टै एआई-पावर्ड वेब ब्राउजर ल्याउने तयारीमा छ। यो ब्राउजरले च्याट-जीपीटी जस्तै इन्टरफेसमा केही कार्यहरू सिधै पूरा गर्न सक्नेछ, जसले प्रयोगकर्तालाई बारम्बार विभिन्न वेबसाइटहरूमा जान आवश्यक नपर्ने बनाउनेछ।
ओपनएआईको योजना यो ब्राउजरमा ‘अपरेटर’ जस्ता उनीहरूकै अन्य एआई प्रोडक्टहरू पनि समावेश गर्नेछ, जसले बुकिङ वा फारम भर्ने जस्ता कार्यहरू पनि सहज बनाउनेछ।
यद्यपि, गुगल क्रोमले हाल ३ अर्बभन्दा बढी प्रयोगकर्तासहित ६६ प्रतिशत बजार हिस्सा ओगटिरहेको छ भने एप्पलको सफारीले १६ प्रतिशत हिस्सा ओगटेको छ। यस्तो अवस्थामा ओपनएआईले ती ब्राउजरहरूसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ।
सन् २०१५ मा सुरुवात, केही वर्षमै धमाका
ओपनएआई एक कृत्रिम बुद्धिमत्ता विकास गर्ने कम्पनी हो। यसको स्थापना २०१५ मा एलन मस्क, स्याम अल्टम्यान र केही साथीहरू मिलेर गरेका थिए। यो कम्पनी विशेषगरी जेनेरेटिभ एआई र लार्ज ल्याङ्गवेज मोडल (जस्तै: च्याट-जीपीटी) को विकासका लागि चिनिन्छ।
यस कम्पनीको उद्देश्य सुरक्षित र मानव-केन्द्रित एआई बनाउने हो। यसको मुख्यालय स्यान फ्रान्सिस्को, क्यालिफोर्नियामा अवस्थित छ।
च्याट-जीपीटी के हो?
च्याट-जीपीटीको पूर्ण रूप हो – च्याट जेनेरेटिभ प्रि-ट्रेन्ड ट्रान्सफरमर । यो ओपनएआईद्वारा विकसित गरिएको एक कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोट हो।
यससँग इन्टरनेटमा उपलब्ध अधिकांश जानकारीका आधारमा प्रश्नहरूको उत्तर दिन सक्ने क्षमता छ। तर, यसले त्यस्ता प्रश्नहरूको मात्र उत्तर दिन सक्छ, जुन कुनै न कुनै समयमा इन्टरनेटमा उठाइएका थिए।
यो एक सफ्टवेयर हो, जसले इन्टरनेटमा रहेका जानकारीहरू पढेर उत्तर तयार पार्छ।