×

शहनाज हुसैन भारतकी एक विश्वप्रसिद्ध सौन्दर्य विज्ञ, आयुर्वेद विशेषज्ञ तथा सफल महिला उद्यमी हुन्। उनलाई ‘हर्बल क्वीन अफ इन्डिया’ भनेर समेत चिनिन्छ। उनले विश्वभरमा प्राकृतिक र जडीबुटीमा आधारित सौन्दर्य उपचार प्रणालीको प्रवर्द्धन गर्दै आयुर्वेदलाई आधुनिक व्यवसायमा रूपान्तरण गरेकी छन्।

उनको जन्म सन् १९४४ मा उत्तर प्रदेशको लखनऊ शहरमा एक शिक्षित र प्रतिष्ठित मुस्लिम परिवारमा भएको थियो। उनका पिताजी न्यायाधीश थिए भने हजुरबुबा प्रमुख प्रशासक थिए। शिक्षा र संस्कारमा उनले बाल्यकालदेखि नै उच्च वातावरणमा हुर्किइन्। उनले अलीगढ़ मुस्लिम विश्वविद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गरिन् र विवाह पछि सौन्दर्य शिक्षा लिन युरोप पुगिन्। उनले लण्डन, पेरिस, डेनमार्क र अन्य मुलुकहरूमा सौन्दर्य विज्ञानको अध्ययन गरिन्।

उनी सौन्दर्यको उपचारमा रासायनिक तत्वहरूको प्रयोगमा विश्वास गर्दिनथिन्। त्यसैले उनले आयुर्वेदको परम्परागत ज्ञानमा आधारित हर्बल उत्पादनहरू निर्माण गर्न थालिन्। सन् १९७१ मा उनले "शहनाज हर्बल्स" कम्पनीको स्थापना गरिन् र आफ्नो पहिलो ब्युटी क्लिनिक दिल्लीमा सुरु गरिन्। उनको क्लिनिक र उत्पादनहरू निकै लोकप्रिय भए र त्यसपछि उनले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिती विस्तार गरिन्।

आज उनका उत्पादनहरू विश्वका १०० भन्दा बढी देशहरूमा उपलब्ध छन् र विश्वका विभिन्न प्रमुख देशहरूमा उनका सौन्दर्य केन्द्रहरू सञ्चालनमा छन्। उनले ‘ट्रेन एण्ड इम्प्लोइ’ कार्यक्रममार्फत हजारौं महिलाहरूलाई व्यवसायिक तालिम दिएकी छन्। उनले महिला सशक्तिकरणमा ठूलो योगदान पुर्‍याएकी छन्।

उनको सफलताको मुख्य विशेषता भनेको परम्परागत आयुर्वेदलाई आधुनिक व्यापारसँग जोड्नु हो। उनको कम्पनीले कुनैपनि पशु परीक्षण नगर्ने, प्राकृतिक तत्व मात्र प्रयोग गर्ने र रसायनमुक्त उत्पादनहरू निर्माण गर्ने नीति लिएको छ।

सन् १९९६ मा उनलाई ह्वाइट हाउसमा आमन्त्रण गरियो जहाँ उनले विश्वभरका महिला उद्यमीहरू माझ आफ्नो सफलताको कथा प्रस्तुत गरिन्। भारत सरकारले सन् २००६ मा उनलाई पद्मश्री पुरस्कारद्वारा सम्मान गर्‍यो। साथै उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू पनि प्राप्त गरेकी छन्, जसमा "Woman of the Decade", "Outstanding Ayurvedic Innovation" लगायत छन्।

शहनाज हुसैनको जीवन यात्रा आत्मबल, नारी सशक्तिकरण, नवप्रवर्तन र परम्परा प्रतिको श्रद्धाको उदाहरण हो। उनले प्राकृतिक सौन्दर्य उपचारको माध्यमबाट नारीहरूको आत्मनिर्भरता र आत्मबल निर्माणमा ठूलो प्रेरणा दिएकी छन्।

Back to top