महोत्तरी। खानेपानी आपूर्ति सहज बनाउने उद्देश्यले महोत्तरीमा अघि बढाइएका ४१ वटा डिप बोरिङ आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन्। आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेका ३१ र प्रदेश सरकारबाट सुरु गरिएका १० आयोजना अझै पनि अधुरो रहेको खुलेको छ।
खानेपानीको चरम संकट खेपिरहेको मनराशिसवा नगरपालिकाको कटैया र मड्वाही जस्ता ठूला आयोजना समेत वर्षौंदेखि काम रोकिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्। मनराशिसवा–१० का वडाध्यक्ष अरुण चौधरीका अनुसार, बजेटको पर्याप्तता नहुनु र आएको बजेटसमेत समयमा ठेक्का प्रक्रिया पूरा नहुँदा फिर्ता जानु मुख्य समस्या हो। साथै, कतिपय ठाउँमा स्थानीयवासीको श्रमदानमा चासो नदेखिएको उनले बताए।
हाल मनराशिसवा नगरपालिकाका १० वडामध्ये ६ र ७ बाहेक अन्य ८ वडामा ५ वटा ट्यांकरबाट खानेपानी वितरण भइरहेको छ। यो अवस्था केही वर्षयता यथावत रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए।
महोत्तरीका भंगाहा, मटिहानी, जलेश्वर, रामगोपालपुर, सोनामा, बर्दिवासलगायतका नगरपालिकामा पनि खानेपानीको समस्या देखिन थालेको छ। कतिपय पालिकाबाट खानेपानी संस्थान महोत्तरी कार्यालयलाई पानीको व्यवस्था गरिदिन माग गर्दै निवेदनहरू समेत प्राप्त हुन थालेका छन्।
खानेपानी संस्थान महोत्तरीका अनुसार, मनराशिसवाको जटही टोल, बर्दिवास–१२, र भंगाहा नगरपालिकाबाट पानीको माग गर्दै पत्रहरू आइरहेका छन्। संस्थानका अधिकारीहरूका अनुसार समस्या समाधान गर्न प्रयास भइरहेको छ, तर पुराना आयोजना अघि नबढेसम्म दीर्घकालीन समाधान कठिन हुने देखिएको छ।