वीरगञ्ज । सखुवाप्रसौनी गाउँपालिकामा मलखाद वितरणलाई लिएर उत्पन्न विवादका विषयमा कोडेड कृषि सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलन आयोजना गरेको छ ।
गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट महतोले कोडेड सहकारीलाई जानकारी नदिई अन्य वडाको संस्थालाई मलखाद वितरणको कोटा दिएको भन्दै सहकारी र स्थानीयले विरोध जनाएका छन् ।
कोडेड कृषि सहकारी संस्थाका अध्यक्ष सत्यजीत चौधरी थारुले लामो समयदेखि आफ्नो संस्थाले निष्पक्ष रूपमा मलखाद वितरण गर्दै आएको दाबी गरे । उनले उपाध्यक्ष विष्टले केही व्यक्तिको उक्साहटमा आफ्नो संस्थालाई मल वितरणमा रोक लगाएर आफूनिकट अर्को संस्थालाई जिम्मा दिन खोजेको आरोप लगाए ।
अध्यक्ष चौधरीका अनुसार, उपाध्यक्ष विष्टका श्रीमान् गौरीशङ्कर महतोले संस्थालाई ४० बोरा मलखाद दिन दबाब दिएको, तर नदिएपछि मल वितरणमा रोक लगाइएको छ ।
स्थानीय शम्भु यादवले पालिकाको निर्णयका कारण किसानहरूले धानबालीमा मलखाद प्रयोग गर्न नपाएको गुनासो गरे । उनले पालिकाको प्राङ्गणमै स्थानीयले विरोध जनाएको बताए ।
यता, उपाध्यक्ष शर्मिला विष्टले कोडेड सहकारीमाथि मलखाद वितरणमा अनियमितताको उजुरी आएकाले वितरणमा रोक लगाइएको र अन्य सहकारीमार्फत मल वितरणको तयारी भइरहेको बताइन् । उनले कुनै पनि सहकारीप्रति आफ्नो आपत्ति नरहेको र निष्पक्ष वितरणको पक्षमा रहेको जिकिर गरिन् । साथै, आफ्ना श्रीमान् वा परिवारले मलखाद मागेको भन्ने आरोप निराधार भएको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले विवाद समाधान गर्न सर्वदलीय बैठक राखिएको र किसानहरूलाई सहज रूपमा मलखाद उपलब्ध गराउन लागिएको बताए । उनले कुनै पनि संस्था वा किसानप्रति विभेद नहुने प्रतिबद्धता व्यक्त गरे ।