×

नेपाल ‘ए’ र आसाम प्रदेश क्रिकेट सङ्घबिचको पाँच खेलको टी–२० सिरिजको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ। ​ ​

गुवाहटीस्थित वर्षापारा व्रिmकेट मैदानमा घरेलु टिम आसामले आइतबार चौथो टी–२० खेलमा नेपाल ‘ए’ लाई १८ रनले हरायो । यस नतिजासँगै शृङ्खला २–२ ले बराबरीको स्थितिमा आएको छ।

यसअघि पहिलो खेल १५ रनले गुमाएको नेपालले दोस्रो खेल ९६ र तेस्रो खेल नौ रनले जितेको थियो। चौथो खेलमा पहिले ब्याटिङ गरको आसामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रन बनाएको थियो। नेपालले जवाफमा नौ विकेटको क्षतिमा १५६ रन मात्र बनाउन सक्यो। 

कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए पनि त्यो नेपाललाई जित दिलाउन पर्याप्त बन्न सकेन । यसैगरी इशान पाण्डेले २७, आदिल अलाम अन्सारी र शेर मल्लले समान ११ रन बनाए। 

आसामका लागि अभिनव चौधरी र अब्दुल कुरेशीले  समान तीन तथा सादिक हुसेनले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको योगफल तयार पारेको थियो।

आसामका लागि कप्तान सुमित घडिअन्करले सर्वाधिक अविजित ७० रन बनाए। यसैगरी हृषिकेश तामुलीले ४६ र  निहार डेकाले  ३७ रन जोडे।

नेपालका आकाश चन्दले दुई बसिर अहमदले एक  विकेट लिए। सिरिजको पाँचौं तथा निर्णायक खेल आज साँझ पाँच बजे सुरु हुनेछ। 

Back to top