संविधानको रक्षा गर्दै राजनीतिक उपलब्धिहरूको संरक्षण, प्रवर्द्धन तथा संस्थागत गरी समुन्नत नेपालको जनआकाङ्क्षा पूरा गर्नु हाम्रो अहिलेको गन्तव्य हो। यसका लागि विद्यमान परिस्थितिमा फागुन २१ को निर्वाचन नै हामी सबैका लागि सबैभन्दा सुरक्षित र उपयुक्त मार्ग हो। अहिले यत्रतत्र छरिएका राजनीतिक दल, शक्ति, समूहहरूलाई एउटै दिशामा हिँडाउनका लागि महत्त्वपूर्ण मिलनबिन्दु पनि हो, निर्वाचन!
समुन्नत नेपालको गन्तव्यमा हिँड्न/हिँडाउन नेपाली काँग्रेस सशक्तसँग समन्वयकारी भूमिकामा आउनुपर्ने अनिवार्य आवश्यकता हो। नेपाली काँग्रेसले त्यतिबेला सशक्त भूमिका निर्वाह गर्न सक्छ जति बेला ऊ आफैँ बलियो हुन्छ। टालटुल पारेर/रप्फु गरेर नेपाली काँग्रेसको कमी-कमजोरी छोपिन जरुर सक्छ, हट्न सक्दैन। अब पनि कमी-कमजोरी कायमै राखेर काँग्रेसलाई बलियो बनाउँछु भन्नु मूर्खताबाहेक केही होइन। काँग्रेस कमजोर रह्यो भने न व्यवस्था बलियो रहन्छ न देश नै।
त्यसैले सबैभन्दा पहिले आफ्नो दललाई बलशाली बनाउँदै समुन्नत नेपालको जनआकाङ्क्षा पूरा गर्नेतर्फ अघि बढ्नु प्रत्येक काँग्रेस सदस्यको कर्तव्य पनि हो। यसका लागि हामी आउँदो मङ्सिरमा महाधिवेशनमा जानुको विकल्प छैन। मलाई लाग्छ, महाधिवेशनमार्फत नेपाली काँग्रेसको प्रभावकारी पुनर्गठन हुन सक्छ।
नेपाली काँग्रेसको विधानको धारा १७ मार्फत अघि बढ्दा हामी सहज र उपयुक्त निकास खोज्न सक्छौँ। यसमा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालिस प्रतिशत सदस्यहरूले चाहेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। मौजुदा कार्यसमितिका ४० प्रतिशत केन्द्रीय सदस्यले महाधिवेशन आवश्यक ठान्ने अवस्था कहिले कमै मात्र छ। त्यसैले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण र आशालाग्दो छ।
देशैभरका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूसमक्ष मेरो विनम्र अनुरोध छ, काँग्रेस बलियो बनाउने, संविधान रक्षा गर्ने, राजनीतिक उपलब्धिहरू सुदृढ रूपमा संस्थागत गर्ने, समुन्नत देश बनाउने कार्यमा तपाईँहरू कृपया अगाडि आउनुहोस्। मङ्सिरमै गर्ने गरी विशेष महाधिवेशनका लागि सामूहिक नेतृत्व लिनुहोस्। परिस्थितिजन्य जिम्मेवारी सम्हाल्दै र महत्त्वपूर्ण भूमिका खेल्दै उत्साहपूर्ण इतिहास कोर्न यहाँहरू सफल हुनुहोस्, शुभकामना ! जय नेपाल !
(लेखक नेपाली काँग्रेसका नेता हुन् ।)