वीरगञ्ज । पर्सा र बाराका विभिन्न सात स्थानमा मङ्गलवार (कार्तिक १८ गते) देखि दुई दिने धार्मिक मेला सुरु भएको छ । चतुर्दशीका दिनदेखि सुरु भएको मेला कार्तिक १९ गते खसी–बाख्राको बलिदानसहित सम्पन्न हुने छ ।
मेला लाग्ने स्थानहरूमा पर्साको पटेर्वासुगौली गाउँपालिकाको गादीमाई, ठोरी गाउँपालिकाको बागमोर्चामाई, जिराभवनी गाउँपालिकाको सुगिभारमाई, पर्सागढी नगरपालिकाको कोईलाभार र आमोदेवीसहित बाराका दुई स्थान रहेका छन् ।
स्थानीयवासीको अनुसार मेलाहरूमा माताको मन्दिरमा पूजा–अर्चना गर्ने, भाकल तर्ने र पशु बलिदान दिने परम्परा पुस्तौँदेखि चल्दै आएको छ । पर्साको पटेर्वासुगौली – ३ श्रीकान्त चौधरीले मेलामा कुलदेवीप्रतिको आस्था र परम्पराको निरन्तरता भएको बताए ।
मेला स्थलहरूमा धार्मिक पूजा–पाठसँगै सांस्कृतिक कार्यक्रम, नाचगान, भजन–कीर्तन, खेल–तमासा, झुलुवा, गेम, पार्चुन तथा कस्टमेटिक पसल, फलामका सामग्री, कपडा, किराना, माछा–मासु र स्थानीय उत्पादनका स्टलहरू समेत राखिएका छन् ।
पटेर्वा सुगौली गाउँपालिका–१ का वडाध्यक्ष फरमान मियाँ अन्सारीका अनुसार मेलाको तयारी पूरा भइसकेको र स्थानीय उत्साह उच्च रहेको छ । उनले मेलाको व्यवस्थापन, सरसफाइ र सुरक्षामा स्थानीय टोलीहरू सक्रिय रहेको बताए ।
मेलाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मेला व्यवस्थापन समिति संयुक्त रूपमा परिचालित छन् । गादी मेला व्यवस्थापन समितिका उपाध्यक्ष लालबहादुर प्रसाद यादवका अनुसार सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको छ ।
यसैबिच, स्थानीय पालिकाहरूले मेलाको अवसरमा एक दिने आंशिक बिदा घोषणा गरेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार मेला आस्था, परम्परा र मनोरञ्जनको सङ्गम हो ।