वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न पाँच स्थानमा आजदेखि धार्मिक आस्था, परम्परा र सांस्कृतिक उत्सवको प्रतीक गादीमाई मेला धुमधामका साथ सुरु भएको छ। भोलि बुधबार (कार्तिक १९ गते) खसी–बाख्रासहित बलिदान पूजा गरी मेला सम्पन्न हुने जनाइएको छ।
मेला पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत गादीमाई, ठोरी गाउँपालिकाको बागमोर्चामाई, जिराभवनी गाउँपालिकाको सुगिभारमाई, पर्सागढी नगरपालिका अन्तर्गत कोईलाभार र आमोदेवी गरी पाँच स्थानमा एकैसाथ सुरु भएको हो।
माताको मन्दिरमा श्रद्धालुहरूले पूजा–अर्चना, भाकल तर्ने र बलिदान दिने परम्परा पुराना पुस्तादेखि निरन्तर चल्दै आएको छ। धार्मिक पूजा–पाठसँगै मेलामा भजन–कीर्तन, नाचगान, झुलुवा, खेल–तमासा, पार्चुन, खाद्यान्न, कपडा र स्थानीय उत्पादनका स्टलहरू पनि आकर्षणका रूपमा रहेका छन्।
तर, विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मेलामा तास–जुवा, कौडी, झन्डा–मुन्डा, लङ्गडा–गुचा र लोकल मदिरा बिक्री–वितरणको तयारी गरिएको स्थानीयहरूले बताएका छन्। यस्ता गतिविधिबाट लाखौँ रुपैयाँ हारजित हुने, पारिवारिक विवाद र महिलामाथि दुर्व्यवहार हुने घटनासमेत हुने गरेको उनीहरूको भनाइ छ।
यस वर्ष यस्ता अवैध क्रियाकलाप रोक्न सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले भने,
“तास तथा कुनै पनि किसिमको जुवा हुन नदिने व्यवस्था मिलाइएको छ। मेलामा शान्ति सुरक्षा कायम राख्न पर्याप्त संख्यामा प्रहरी तैनाथ गरिएको छ। साथै, मदिरा सेवन गरेर सवारी साधन नचलाउन सबैलाई आग्रह गरिएको छ।”
सुरक्षाको जिम्मेवारीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मेला व्यवस्थापन समितिका स्वयंसेवकहरू परिचालित छन्। पटेर्वा सुगौली वडा नं.१ गादी मेला समितिका उपाध्यक्ष लालबहादुर प्रसाद यादवका अनुसार, “मेलाको धार्मिक र सांस्कृतिक मर्यादा जोगाउन सुरक्षासँग सहकार्य गर्दै सबै तयारी पूरा गरिएको छ।”
स्थानीय बासिन्दा हरि यादवले भने, “गादीमाई मेलाको वास्तविक पहिचान पूजा, श्रद्धा र संस्कृतिमा हो — तास र मदिरामा होइन।” मेलामा खरका छाप्रा र पाल टाँसेर तास–जुवा सञ्चालन गर्न खोज्नेहरूको गतिविधि रोक्न स्थानीयहरूले प्रहरीलाई फोनमार्फत ध्यानाकर्षण गराएको पनि जनाइएको छ। उनीहरूले मेला अवधिभर प्रहरी सक्रिय रहोस् भन्ने आग्रहसमेत गरेका छन्।