×

वीरगञ्ज । वीरगञ्जमा ‘स्काइलाइन मल’ र ‘सरोवर पोर्टिको’ होटल सञ्चालन गरिरहेको स्काइलाइन इन्फ्रा लिमिटेडको व्यापारमा उत्साहजनक सुधार देखिएको छ। होटल व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएसँगै कम्पनीको आम्दानी एक वर्षमै सात गुणाभन्दा बढीले वृद्धि भएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीले सन् २०२५ मा ८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीको कुल व्यापार १ करोड २० लाख रुपैयाँ मात्र रहेको थियो। सन् २०२४ सम्म मल मात्रै सञ्चालनमा रहेकामा सोही वर्षको सेप्टेम्बर मध्यदेखि होटल सञ्चालनमा आएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको हो।

त्यसैगरी, कम्पनीले चालू आर्थिक वर्ष सन् २०२६ का पहिलो पाँच महिनामै ३ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ।

व्यापार बढे पनि होटल क्षेत्रको उच्च सञ्चालन लागतका कारण नाफाको मार्जिनमा भने गिरावट आएको छ। सन् २०२४ मा ६४.५५ प्रतिशत रहेको सञ्चालन मुनाफा सन् २०२५ मा घटेर ३१.३७ प्रतिशतमा सीमित भएको छ। होटल सञ्चालन खर्च, बैंक ब्याज तथा ह्रासकट्टी खर्च बढ्दा खुद नाफा २.६८ प्रतिशतमा खुम्चिएको इन्फोमेरिक्सले जनाएको छ।

इन्फोमेरिक्सले कम्पनीले उपयोग गरिरहेको कुल १ अर्ब ६ करोड २२ लाख ८० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाका लागि बी प्लस (B+) रेटिङ प्रदान गरेको छ। परियोजनाको सुरक्षा अवस्था र ऋण तिर्न सक्ने क्षमतालाई आधार मानेर उक्त रेटिङ दिइएको जनाइएको छ।

हाल ‘सरोवर पोर्टिको’ होटलको बेड अकुपेन्सी दर करिब ३४ प्रतिशत रहेको छ। होटल र मल गरी कम्पनीका आम्दानीका दुई मुख्य स्रोत रहेका छन्। सन् २०२५ को कुल आम्दानीमध्ये होटल व्यवसायको हिस्सा करिब ७४ प्रतिशत रहेको छ। वीरगञ्जमा सञ्चालित ६० कोठे होटलले व्यावसायिक सफलता हासिल गर्न थालेपछि कम्पनीको वित्तीय अवस्था क्रमशः सुदृढ बन्दै गएको देखिन्छ।

कम्पनीको अर्को सबल पक्ष यसको रणनीतिक अवस्थिति हो। वीरगञ्जको मुख्य क्षेत्रमा रहेको स्काइलाइन मल र होटल नेपाल–भारत सीमा रक्सौल नाकाबाट करिब ४ किलोमिटर दूरीमा अवस्थित छ। यसले भारतीय पर्यटक तथा व्यावसायिक यात्रुहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

होटलले भारतको प्रतिष्ठित होटल चेन ‘सरोवर होटल प्राइभेट लिमिटेड’सँग आबद्ध भई ‘सरोवर पोर्टिको’ ब्राण्डअन्तर्गत सेवा दिँदै आएको छ। अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदारीले होटलको विश्वसनीयता र बजार उपस्थिति थप बलियो बनेको रेटिङ एजेन्सीले उल्लेख गरेको छ।

सन् २०१६ मा निजी कम्पनीका रूपमा स्थापना भएको स्काइलाइन इन्फ्रा सन् २०२३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। कम्पनीले नौ तले व्यापारिक कम्प्लेक्स स्काइलाइन मल सञ्चालन गरिरहेको छ, जसमा होटल, ब्याङ्क्वेट हल, रिटेल आउटलेट, सिनेमा हल, क्यासिनो तथा अफिस स्पेस समावेश छन्। कम्पनीमा प्रतिक अग्रवाल प्रमुख सेयरधनीका रूपमा रहेका छन्, जसको १७ प्रतिशत सेयर स्वामित्व छ।

Back to top