×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी समीकरणमा महत्वपूर्ण फेरबदल आएको छ। प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन क्षेत्र नम्बर–२ को निर्वाचन कार्यालयका अनुसार साहले तोकिएको समयसीमाभित्र निवेदन दर्ता गराउँदै उम्मेदवारी फिर्ता लिएका हुन्। निर्वाचन अधिकृत मधुसुदन आचार्यले साहको उम्मेदवारी फिर्ता सम्बन्धी सबै कानुनी प्रक्रिया पूरा भइसकेको पुष्टि गर्नुभएको छ।

निर्वाचन कार्यालयका अनुसार अब सबै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ। साथै, आजै सबै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उम्मेदवारी फिर्ता लिएपछि साहले आफू नेपाली कांग्रेस समर्थक रहेको खुलासा गर्दै पार्टीभित्रको आन्तरिक समन्वयको अभावका कारण स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। अब भने उनले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारको पक्षमा खुलेर लाग्ने घोषणा गरेका छन्।

राजेश्वर साहको उम्मेदवारी फिर्तासँगै पर्सा–२ मा नेपाली कांग्रेसको चुनावी रणनीतिलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। कांग्रेसभित्र देखिएको यो एकताले निर्वाचन परिणाममा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Back to top