×

वीरगञ्ज । उम्मेदवारी मनोनयन दर्तासँगै मधेश प्रदेशको आर्थिक राजधानी वीरगञ्जस्थित पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। परम्परागत रूपमा नेपाली कांग्रेसको बलियो पकड मानिने यस क्षेत्रमा यसपटक बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ।

नेपाली कांग्रेसबाट पूर्वमन्त्री अजय कुमार चौरसिया पुनः उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट रिमादेवी यादव, नेकपाबाट मनोज चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा उम्मेदवार सुशिल कुमार कानु चुनावी मैदानमा उत्रिएका छन्। प्रभावशाली र अनुभवी उम्मेदवारहरूको उपस्थितिले यस क्षेत्रको चुनावलाई चासोको विषय बनाएको छ।

यसबीच रास्वपाका उम्मेदवार सुशिल कुमार कानु छोटो समयमै राजनीतिक र सामाजिक पहिचान बनाउन सफल व्यक्ति रूपमा देखिन थालेका छन्। अनुभवी र राजनीतिमा दख्खल राख्ने अजय कुमार चौरसियासँगको प्रतिस्पर्धा चुनौतीपूर्ण भए पनि साहको सामाजिक पृष्ठभूमि र युवामैत्री सोचले मतदाताको ध्यान आकर्षित गरिरहेको स्थानीयहरू बताउँछन्।

सुशिल कुमार कानु नेपाली राजनीतिमा विरलै देखिने सामाजिक पृष्ठभूमिबाट आएको व्यक्तित्वका रूपमा परिचित छन्। उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् र स्थानीय समस्यामा प्रत्यक्ष संलग्न हुँदै आएका कारण मतदाताबीच सहज स्वीकार्यता बनाएको देखिन्छ।

हाल “घण्टी र बालेन प्रधानमन्त्री बनाऔँ” भन्ने अभियानले समेत यस क्षेत्रमा चर्चा पाएको छ, जसले रास्वपाका उम्मेदवार कानुलाई थप बलियो बनाएको विश्लेषकहरूको भनाइ छ। परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको मागसँगै पर्सा–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

Back to top