×

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१) नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल तीव्र बन्दै गएको छ । पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको अपेक्षा गरिरहेका मतदाताका कारण यो क्षेत्र यसपटक पुराना दलका अनुभवी नेताहरूका लागि चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका अजय चौरसिया यसै क्षेत्रबाट २८ हजार ४५१ मतसहित निर्वाचित भएका थिए भने जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मी २२ हजार ४४५ मतसहित दोस्रो स्थानमा रहेका थिए । त्यसयता यस क्षेत्रको राजनीतिक समीकरणमा गठबन्धन, दलगत रणनीति र युवा नेतृत्वको प्रभाव क्रमशः बढ्दै आएको छ ।

यसपटक पनि कांग्रेसले वर्तमान सांसद चौरसियालाई पुनः उम्मेदवार बनाएको छ । तर मतदाताको चाहना भने अघिल्ला निर्वाचनभन्दा फरक देखिएको छ । विशेष गरी युवा, विद्यार्थी, पेशाकर्मी र स्वतन्त्र विचारधाराका मतदाताहरू पुरानो राजनीतिक संस्कृतिको सट्टा परिणाममुखी, जवाफदेही र नयाँ सोच बोकेको नेतृत्वको खोजीमा देखिन्छन् ।

युवा उम्मेदवारको उदय, अनुभवी नेताको चुनौती

पर्सा–२ मा यसपटक मुख्य प्रतिस्पर्धा युवा उम्मेदवार र अनुभवी नेताबीच केन्द्रित भएको छ । विभिन्न दलहरूले नयाँ पुस्ताका उम्मेदवारलाई अघि सारेका छन् भने परम्परागत दलहरूले अनुभवी नेतामार्फत आफ्नो राजनीतिक पकड जोगाउने प्रयास गरिरहेका छन् ।

उम्मेदवार को–को ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
रास्वपाले ३६ वर्षीय सुशील साह कानुलाई उम्मेदवार बनाएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष निर्वाचित भएका कानुले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन् । मधेशवादी राजनीतिबाट यात्रा सुरु गरेका उनी रास्वपामार्फत नयाँ राजनीतिक पहिचान बनाउने प्रयासमा छन् । युवा तथा मधेशवादी मतदातामाझ उनको प्रभाव बढ्दो रहेको विश्लेषकहरूको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
एमालेले २९ वर्षीया रिमा यादवलाई उम्मेदवार बनाएको छ । देशकै कान्छी उम्मेदवारमध्ये एक रिमाको राजनीतिक अनुभव सीमित भए पनि पारिवारिक राजनीतिक पृष्ठभूमि र स्थानीय सञ्जाललाई आधार मानेर एमालेले उनलाई अघि सारेको बताइन्छ । एमालेले यस क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारी दिएको यो लामो समयपछिको पहिलो अवसर हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
राप्रपाले ४० वर्षमुनिका युवा नेतृ बीना जैसवाल कुर्मीलाई उम्मेदवार बनाएको छ । उनी यसअघि समानुपातिक सांसद रहिसकेकी छन् । राजनीतिक अनुभव र जनसम्पर्कका कारण उनी पनि प्रतिस्पर्धामा प्रभावशाली बन्न सक्ने आकलन गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)
जसपाबाट ४५ वर्षीय अशोक टेमानी उम्मेदवार छन् । नेपाल उद्योग वाणिज्य संघका प्रदेश अध्यक्षसमेत रहेका टेमानी पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन् । व्यवसायिक क्षेत्रको नेटवर्क उनका लागि अवसर र राजनीतिक अनुभवको अभाव चुनौतीका रूपमा देखिएको छ ।

नेपाली कांग्रेस
कांग्रेसका अजय चौरसिया यस क्षेत्रका सबैभन्दा अनुभवी र ‘हेभिवेट’ उम्मेदवार मानिन्छन् । विद्यार्थी राजनीतिदेखि सक्रिय उनी २०५६ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सहायक मन्त्री र पछिल्लो समय कानुन मन्त्रीसमेत भइसकेका चौरसियाको राजनीतिक अनुभव, संगठनात्मक सञ्जाल र संसदीय ज्ञान उनलाई बलियो बनाउने पक्ष हो ।

निर्णायक मोडमा पर्सा–२

पर्सा–२ मा अहिले ‘नयाँ नेतृत्व’को चर्चा व्यापक भए पनि अनुभवी नेताहरूको संगठनात्मक शक्ति अझै कमजोर भइसकेको छैन । यही कारण अन्तिम समयसम्म मतदाताको धारणा परिवर्तन हुन सक्ने सम्भावना देखिन्छ ।

विश्लेषकहरूका अनुसार यो निर्वाचनले मधेशको राजनीतिक परिदृश्यमा नयाँ संकेत दिन सक्छ । युवा उम्मेदवारले अपेक्षित समर्थन पाएमा नेतृत्व परिवर्तनको आधार बन्न सक्नेछ ।

अन्ततः फागुन २१ मा हुने मतदानले पर्सा–२ को राजनीतिक भविष्यको दिशा तय गर्नेछ । कडा प्रतिस्पर्धा र बहुपक्षीय भिडन्तका कारण नतिजा नजिकबाटै प्रतिक्षा गर्नुपर्ने अवस्था बनेको छ ।

Back to top