×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा सक्षम र प्रभावशाली उम्मेदवार दिन नसकेको भन्दै स्थानीय मतदाता तथा राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ ।

परम्परागत दलहरूले चर्चित र हेभीवेट उम्मेदवारहरू चुनावी मैदानमा उतारेको अवस्थामा रास्वपाको उम्मेदवार छनोट कमजोर देखिएको उनीहरूको धारणा छ ।

पर्सा–३ मा नेपाली काँग्रेसबाट पूर्व मन्त्री तथा पटक–पटकका सांसद सुरेन्द्र प्रसाद चौधरी र नेकपा (एमाले) बाट युवा उद्यमी तथा स्वच्छ छविका उम्मेदवार रुपेश पाण्डेय चुनावी प्रतिस्पर्धामा छन् । यस्ता अनुभवी र स्थापित उम्मेदवारबिच रास्वपाले रामाकान्त चौरसियालाई उम्मेदवार बनाउँदा पार्टीको सम्भावना कमजोर हुन सक्ने आङ्कलन गरिएको छ ।

आगामी निर्वाचनमा जेन–जी आन्दोलनको प्रभाव र पार्टी नेतृत्वको लोकप्रियताका कारण रास्वपाले पर्साका चारमध्ये केही क्षेत्रमा जित निकाल्न सक्ने चर्चा थियो । तर पर्सा–३ मा अन्तिम समयमा गरिएको उम्मेदवार छनोटपछि त्यो आङ्कलन कमजोर बन्ने मत केही राजनीतिक विश्लेषक तथा मतदाताहरूले व्यक्त गरेका छन् ।

रामाकान्त चौरसियाको राजनीतिक पृष्ठभूमि नेपाली काँग्रेससँग जोडिएको बताइन्छ । उनी निर्माण व्यवसायीसमेत हुन् र पर्सा निर्वाचन क्षेत्र नम्बर–२ स्थायी घर भएका व्यक्ति हुन् । स्थानीय स्रोतहरूका अनुसार उनी काँग्रेसका पूर्व मन्त्री तथा पर्सा–२ का उम्मेदवार अजयकुमार चौरसियाका नातेदार पनि हुन् । अजय चौरसियाको संरक्षण र सहयोगमा उनी ‘क’ श्रेणीका ठेकेदार बनेको दाबीसमेत स्थानीय स्तरमा सुनिन्छ ।

स्थानीयहरूको भनाइ अनुसार चौरसियाको पर्सा–३ क्षेत्रमा सामाजिक लगानी न्यून छ । उनी यसअघि मुख्य रूपमा आफ्नो व्यापार–व्यवसायमा व्यस्त रहँदै आएका थिए भने सामाजिक तथा राजनीतिक रूपमा उल्लेखनीय योगदान देखिँदैन । यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई रास्वपाले उम्मेदवार बनाउँदा जिल्ला नै राजनीतिक रूपमा चर्चाको विषय बनेको छ ।

अर्कोतर्फ, काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद चौधरी अनुभवी र सङ्गठनमा बलियो पकड भएका नेता मानिन्छन् । विशेष महाधिवेशनमा काँग्रेस सभापति गगन थापालाई सहयोग गरेका कारण पार्टीभित्र पनि उनको राम्रो समर्थन रहेको बताइन्छ । यस्तै, एमालेका उम्मेदवार रुपेश पाण्डेयले लामो समयदेखि क्षेत्रमा सक्रिय रहँदै विभिन्न सामाजिक कामहरू गरेको र स्थानीय समस्या नजिकबाट बुझेको दाबी गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाका उम्मेदवार चौरसियाको चुनावी पूर्व तयारी कमजोर देखिन्छ । सामाजिक र राजनीतिक रूपमा कम चिनिएका व्यक्तिलाई कडा प्रतिस्पर्धा रहेको क्षेत्रमा उम्मेदवार बनाउँदा पार्टीलाई घाटा हुन सक्ने अवस्था देखिएको छ ।

यसैबीच, केही स्थानीय स्रोतहरूले रामाकान्त चौरसियाको अघिल्लो राजनीतिक आबद्धता र सम्बन्धका विषयमा प्रश्न उठाएका छन् । स्रोतहरूका अनुसार उनी यसअघि नेपाली काँग्रेससँग आबद्ध थिए र अजय चौरसियासँग नातेदारी सम्बन्ध रहेको छ । साथै ठेक्का–पट्टासँग सम्बन्धित गतिविधि र आर्थिक सहयोगका विषयमा पनि आरोपहरू उठेका छन् ।

राजनीतिक विश्लेषकहरूले पर्सा–३ मा रास्वपाको चुनावी प्रदर्शन उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय जनसमर्थन र पार्टी संगठनको सक्रियतामा निर्भर रहनेछ । उठेका आलोचना र प्रश्नहरूलाई पार्टी नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने विषय आगामी चुनावी परिणामका लागि निर्णायक बन्न सक्ने अनुमान गरिएको छ ।

Back to top