आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको छ। सुपर सिक्समा पुग्न नेपाललाई स्कटल्यान्डविरूद्ध फराकिलो अन्तरको जित आवश्यक छ।
यद्यपि जितले मात्र नेपाललाई अघि बढाउने निश्चित छैन। समूह बी अन्तर्गत थाइल्यान्ड र नेदरल्यान्ड्सबीच हुने अर्को खेलको परिणामले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ।
नेपालले स्कटल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेमा र नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेटरनरेटका आधारमा नेपाल सुपरसिक्समा पुग्ने सम्भावना रहनेछ।
स्कटल्यान्डसँग पराजित भएमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। स्कटल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुग्नेछन् भने नेदरल्यान्ड्स यसअघि नै सुपर सिक्समा पुगिसकेको छ।
थाइल्यान्ड र नेदरल्यान्ड्ससँग लगातार दुई खेलमा पराजित भएको नेपालले जिम्बाब्वेलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।