×

वीरगञ्ज । पर्सा जिल्लामा केही पूर्व मन्त्रीहरू निरन्तर संसदीय निर्वाचन लड्दै ‘सदाबहार उम्मेदवार’को रूपमा आफ्नो राजनीतिक पहिचान बनाउँदै आएका छन् । विगत तिन दशकभन्दा बढी समयदेखि लगातार निर्वाचनमा सहभागी हुँदै निर्वाचित भइरहेका उनीहरू यस पटक पनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका छन् ।

विक्रम संवत् २०४८ सालको पहिलो संसदीय निर्वाचनदेखि हालसम्मका सबै निर्वाचन लड्दै आएका नेपाली काँग्रेसका तीन नेताहरू यस पटक पनि उम्मेदवार बनेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट ६२ वर्षीय पूर्व मन्त्री अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट ६८ वर्षीय पूर्व मन्त्री सुरेन्द्रप्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट ६८ वर्षीय पूर्व मन्त्री रमेशप्रसाद रिजाल चुनावी प्रतिस्पर्धामा छन् ।

पर्सा–४ बाट उम्मेदवार बनेका पूर्व मन्त्री रमेशप्रसाद रिजाल आठौँ पटक संसदीय निर्वाचनमा सहभागी हुँदै छन् । २०४८ सालदेखि निर्वाचन लड्न थालेका रिजाल चार पटक निर्वाचित र तीन पटक पराजित भइसकेका छन् । उनी हाल निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत हुन् । रिजालले २०४८, २०५२, २०६४ र २०७९ सालको निर्वाचन जितेका थिए भने २०५६, २०७० र २०७४ सालको निर्वाचनमा पराजित भएका थिए ।

२०७९ सालको निर्वाचन जितेपछि उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । उक्त निर्वाचनमा उनले नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गर्दै ३१ हजार १४२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी मन्सुरीले २५ हजार ६१२ मत पाएका थिए ।

यसैगरी पर्सा–३ बाट उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद चौधरी पनि आठौँ पटक संसदीय निर्वाचनमा होमिएका छन् । २०४८ सालदेखि निर्वाचन लड्दै आएका चौधरी चार पटक सांसद निर्वाचित भएका छन् । उनले २०४८, २०५२, २०५६ र २०७० सालको निर्वाचन जितेका थिए भने २०६४, २०७४ र २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।

पटक–पटक मन्त्री भइसकेका चौधरी नेपाली काँग्रेस पर्साका पूर्व सभापति समेत हुन् । उनले विज्ञान तथा प्रविधि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेका छन् । भर्खरै सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशनमा सभापति गगन थापाको पक्षमा उभिएर केन्द्रीय सदस्य समेत बनेका चौधरी हाल पाँचौँ जितको खोजीमा छन् ।

त्यसैगरी पर्सा–२ बाट उम्मेदवार बनेका काँग्रेसका पूर्व केन्द्रीय सदस्य अजयकुमार चौरसिया छैटौँ पटक संसदीय निर्वाचनमा सहभागी हुँदै छन् । २०५६ सालदेखि सबै निर्वाचन लड्दै आएका चौरसियाले २०५६, २०६४ र २०७९ सालको निर्वाचन जितेका थिए भने २०७० र २०७४ सालको निर्वाचनमा पराजित भएका थिए ।

चौरसिया २०५६ सालको निर्वाचन जितेपछि सहायक मन्त्री बनेका थिए भने २०७९ सालको निर्वाचन जितेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा थालेका चौरसिया २०५१ सालदेखि पर्सा काँग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेर पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।

फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा काँग्रेसका तिनै अनुभवी नेताहरूको निरन्तर राजनीतिक यात्राले पर्साको चुनावी प्रतिस्पर्धालाई अझ रोचक र चासोपूर्ण बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

यद्यपि, उनीहरूले नयाँ नेताहरूलाई अवसर नदिएको आरोप समेत लाग्ने गरेको छ ।

Back to top