×

वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा लामो राजनीतिक अनुभव भएका नेता रमेश रिजालप्रति मतदाताको असन्तुष्टि बढ्दै गएको देखिएको छ। सातौँ पटक निर्वाचन प्रतिस्पर्धामा उत्रिएका रिजालको करिब छ दशक लामो राजनीतिक यात्रा रहे पनि जिल्लाका लागि ठोस र देखिने उपलब्धि प्रस्तुत गर्न नसकेको आरोप स्थानीय स्तरबाट उठ्न थालेको हो।

रिजाल उद्योग मन्त्री रहँदा संसदमा ‘विद्युतीय व्यापार विधेयक’ सम्बन्धी छलफलका क्रममा दिएको अभिव्यक्तिले उनको कार्यक्षमतामाथि प्रश्न उठाएको भन्दै विपक्षी दलहरूले आलोचना गर्दै आएका छन्। विधेयकबारे धारणा व्यक्त गर्ने क्रममा ‘विद्युत’लाई ‘बिजुली बत्ती’सँग जोडेर दिएको जवाफ सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई विषयवस्तुमा कमजोर मन्त्रीको रूपमा चित्रण गर्ने प्रयाससमेत भएको छ।

स्थानीय तहमा भने लामो समयदेखि सत्ताको पहुँचमा रहे पनि औद्योगिक विकास, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारमा उल्लेखनीय पहल नगरेको आरोप लाग्दै आएको छ। कतिपय स्थानीय बासिन्दाले पटक–पटक निर्वाचित भए पनि क्षेत्रको समग्र विकास अपेक्षाअनुसार अघि बढ्न नसकेको गुनासो व्यक्त गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार रिजालको अनुभव र वरिष्ठता अझै सम्मानको विषय भए पनि नयाँ पुस्ताका मतदातामाझ उनको लोकप्रियता घट्दै गएको देखिन्छ। विशेषगरी युवा मतदाताहरू नयाँ सोच, प्रविधिमैत्री नेतृत्व र परिणाममुखी कार्यशैली खोजिरहेका बेला रिजाल पुरानै राजनीतिक शैलीमा सीमित भएको आरोप लाग्ने गरेको छ।

निर्वाचन नजिकिँदै जाँदा रमेश रिजालले आफ्नो दीर्घ राजनीतिक यात्राका उपलब्धिहरू स्पष्ट रूपमा मतदातासामु प्रस्तुत गर्नुपर्ने दबाब बढेको छ। अन्यथा, बदलिँदो मतदाता मनोविज्ञान र जनअपेक्षाले उनको आगामी राजनीतिक यात्रालाई चुनौतीपूर्ण बनाउन सक्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

Back to top