×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेयले आफू राजनीति लोकप्रियता कमाउन नभई जनताको सेवाका लागि आएको बताएका छन् । मतदातासँगको भेटघाट तथा संवाद कार्यक्रमका क्रममा उनले विकास र सुधारलाई केन्द्रमा राखेर आफ्ना एजेन्डा सार्वजनिक गरेका हुन् ।

पाण्डेयले कृषि क्षेत्रको रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्दै साना किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, मलखाद तथा सिँचाइको सहज व्यवस्था मिलाउने र बजार व्यवस्थापन सुधार गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रको आधुनिकीकरणमा जोड दिँदै उनले प्रविधि तथा सीपमूलक कार्यक्रममार्फत शिक्षाको गुणस्तर वृद्धि गर्ने तथा स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरी गुणस्तरीय सेवा विस्तार गर्ने योजना अघि सारे ।

युवालाई नेपालमै सम्मानजनक रोजगारी र सीपको अवसर सिर्जना गर्ने, महिलाको वास्तविक नेतृत्व र निर्णय प्रक्रियामा सहभागिता बढाउने तथा ज्येष्ठ नागरिकका लागि समुदाय–आधारित सहयोग र सम्मान सुनिश्चित गर्ने विषयलाई पनि उनले आफ्नो एजेन्डामा समेटेको बताए ।

सांसद निर्वाचित भए नियमित जन–प्रतिवेदन प्रस्तुत गर्दै प्रत्यक्ष जबाफदेहिता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेयले भने, “म नारा होइन, संरचना बनाउन चाहन्छु । म भीड होइन, भविष्यसँग उभिन चाहन्छु । यदि राजनीति सेवा हो भने, म त्यसलाई अभ्यासमा देखाउन चाहन्छु ।”

Back to top