×

वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहौल निकै तीव्र र रोचक बन्दै गएको छ । ठोरीदेखि ग्रामीण भेगका विभिन्न ठाउँसम्म राजनीतिक बहस, घरदैलो र जोड घटाउ बढिरहेका छन् । यस पटकको निर्वाचन विगतका २०७४ र २०७९ को तुलनामा फरक देखिएको छ । यहाँ पुराना दलहरूले आफ्नो प्रभाव कायम राख्ने प्रयासमा छन् भने नयाँ शक्तिहरू स्थापित हुने रणनीतिमा लागेका छन् ।

पर्सा–४ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाल, नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँ मन्सुरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यबिच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक आकलनमा काँग्रेस र एमालेबिच मुख्य टक्कर देखिए पनि रास्वपाको उपस्थितिले समीकरण थप जटिल बनेको छ ।

नेपाली काँग्रेसका रमेश रिजाल अनुभवी राजनीतिज्ञ हुन् । उनी लामो समयदेखि नेपाली काँग्रेससँग आबद्ध छन् र पटक–पटक निर्वाचन लडेर संसद्मा प्रतिनिधित्व गरेका छन् । विभिन्न मन्त्रालयहरू सम्हालेको अनुभव भएका कारण पार्टीले उनलाई यस क्षेत्रबाट प्राथमिकताका साथ टिकट दिएको छ । विशेषगरी २०७९ को निर्वाचनमा उनले एमालेका जालिम मियाँलाई करिब ५ हजार ५ सय मतान्तरले पराजित गर्दै विजयी भएका थिए । रिजालले उद्योग मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । काँग्रेसको बलियो सङ्गठन र समर्थन आधार भएका कारण उनी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । यस पटक पनि उनले क्षेत्रको विकासका लागि राम्रो काम गर्ने आश्वासन दिएका छन् ।

यद्यपि, रिजालमाथि केही स्थानीय स्तरमा विकास कार्य अपेक्षाअनुसार नभएको, निर्वाचित भएपछि काठमाडौँमै बढी समय बसेको, स्थानीय जनताको (भुईँ मान्छेको) समस्या समाधान नगरेको जस्ता आरोप लाग्ने गरेका छन् । विशेष गरी उद्योग मन्त्री हुँदा पर्सा जिल्लाका लागि खासै उल्लेखनीय काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।

नेकपा (एमाले) का जालिम मियाँ मन्सुरी यसअघि जगरनाथपुर गाउँपालिकाको अध्यक्ष रहिसकेका व्यक्ति हुन् । उनी विवादास्पद पृष्ठभूमिका कारण चर्चामा छन् । गाउँपालिका अध्यक्ष रहँदा विभिन्न भ्रष्टाचारका आरोप लागेका थिए । कोरोना महामारीको समयमा पनि उनको भूमिकामाथि प्रश्न उठेको थियो । पटक–पटक प्रहरी हिरासतमा परेको, हत्या, तस्करी जस्ता गम्भीर आरोप लागेको र पक्राउ परेको इतिहास छ । पछिल्लो समय निर्वाचन प्रभावित पार्न बाह्य शक्तिहरू परिचालन गरेको आरोप पनि लागिरहेको छ । केहीले उनलाई धार्मिक भोटको आधारमा चुनाव लडिरहेको आरोप लगाउँछन् । तैपनि, पार्टीको समर्थन र स्थानीय स्तरमा बढ्दो सक्रियताका कारण उनी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । एमाले नेताहरूले गाउँ–टोल केन्द्रित अभियान र युवा, किसान, मजदुर, व्यवसायीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाबी गरेका छन् ।

रास्वपाका टेकबहादुर शाक्य केही समयअघि मात्र नेकपा (माओवादी केन्द्र) त्यागेर रास्वपामा प्रवेश गरेका हुन् । माओवादीबाट टिकट नपाउने देखेपछि पार्टी परिवर्तन गरेर चुनावी मैदानमा उत्रिएका छन् । ठोरी क्षेत्रमा केही समर्थन देखिए पनि अन्य समुदाय, जाति र धर्मका मत उनलाई नपर्ने आङ्कलन छ । सङ्गठनको अभाव र पार्टीको स्थानीय स्तरमा कमजोर उपस्थितिका कारण उनको लागि यो चुनाव चुनौतीपूर्ण देखिएको छ । अनुभवको कमी र पार्टी परिवर्तनको मुद्दालाई लिएर पनि आलोचना भइरहेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–४ मा वर्तमान प्रतिस्पर्धा अत्यन्त रोचक र अनिश्चित छ । उम्मेदवारहरूको व्यक्तिगत छवि, पार्टी सङ्गठन, स्थानीय मुद्दा (जस्तै ठोरीको विकास, स्वास्थ्य, शिक्षा, सडक) र जनउत्साहले अन्तिम मत परिणाम निर्धारण गर्ने देखिन्छ । मतदान नजिकिँदै जाँदा चुनावी सरगर्मी थप बढ्ने अनुमान गरिएको छ ।

Back to top