वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनाथपुरमा बुधवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले घरदैलो कार्यक्रम गरेका छन् ।
बैजनाथपुरका विभिन्न टोलमा पुगेर उनले मतदातासँग भेटघाट गर्दै स्थानीय तहका साना कामभन्दा सङ्घीय सांसदले गर्न सक्ने नीतिगत र कानुनी पहलका विषयमा जोड दिए ।
उनले भने, “प्रतिनिधिसभा सदस्यको मुख्य काम नीति बनाउने, बजेट ल्याउने र सरकारलाई जबाफदेही बनाउने हो ।” क्षेत्रका लागि आवश्यक ठूला पूर्वाधार योजना, सिँचाइ आयोजना, सडक स्तरोन्नति, स्वास्थ्य संस्था र शैक्षिक पूर्वाधारका लागि सङ्घीय बजेट सुनिश्चित गर्न आफू सक्रिय रहने उनले बताए ।
साहले कृषि क्षेत्रका लागि अनुदान नीति सुधार, मल–बिउ आपूर्ति प्रणाली पारदर्शी बनाउने कानुनी पहल र किसानमैत्री बजार संरचना निर्माणका लागि संसद्मा आवाज उठाउने बताएका छन् । साथै उद्योग–व्यवसाय प्रवर्द्धन, साना तथा मध्यम उद्यमलाई कर र नीतिगत सहजीकरण, र युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम सङ्घीय स्तरबाट ल्याउन पहल गर्ने उनको भनाइ छ ।
त्यस्तै नागरिकता, राहदानी, सामाजिक सुरक्षा जस्ता विषयमा कानुनी जटिलता हटाउन आवश्यक संशोधन र सरलीकरणका लागि पहल गर्ने उनले उल्लेख गरेका छन् । सुशासन र पारदर्शिताका लागि संसद्मार्फत निगरानी भूमिका सशक्त बनाउने उनको प्रतिबद्धता छ ।