वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्ज महानगरपालिका – २७ उदयपुर घुर्मीमा आयोजना गरेको रात्रि सभामा पार्टीका प्रमुख नेताहरूले आगामी चुनावमा छाता छापमा मतदान गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् ।
आगामी प्रतिनिधिसभा सदस्य पदको चुनावलाई केन्द्रमा राखेर आयोजित सभामा पार्टीको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अशोक कुमार टेमानी (अग्रवाल) ले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै मतदाताहरूसँग संवाद गरेका थिए ।
सभालाई सम्बोधन गर्दै टेमानीले छाता छापलाई सङ्घीयता, समावेशिता, सुशासन र समृद्धिको प्रतीक बताउँदै सोही चुनाव चिन्हमा मतदान गर्न स्थानीय मतदाताहरूसँग अपिल गरे ।
“हामीले मधेसको विकास र जनताको सेवा गर्नका लागि यो छाता छापलाई चुनावी चिन्ह बनाएका छौँ । यो छापले मात्रै तपाईँहरूको आवाजलाई सङ्घीय संसद्मा पुर्याउन सक्छ,” टेमानीले भने । उनले स्थानीय मुद्दाहरू जस्तै औद्योगिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणमा जोड दिए ।
सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा मधेस प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले जसपा नेपाललाई मधेसको प्रतिनिधित्व गर्ने प्रमुख शक्तिका रूपमा चित्रण गर्दै छाता छापमा मतदान गरेर पार्टीको विजय सुनिश्चित गर्न आग्रह गरे । “हामीले विगतमा मधेस आन्दोलनबाट प्राप्त अधिकारहरूलाई संस्थागत गर्न र थप उपलब्धि हासिल गर्न यो चुनाव जित्नुपर्छ । छाता छापमा मतदान गरेर हाम्रा उम्मेदवारहरू जिते मात्रै यो सम्भव हुन्छ,” कुर्मीले भने । उनले पार्टीको नीति तथा कार्यक्रमहरूबारे चर्चा गर्दै किसान, मजदुर र युवाहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामा विभिन्न राजनीतिक दल त्यागेर दर्जनौँ स्थानीयहरूले जसपा नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई टेमानी र कुर्मी लगायतका नेताहरूले फुलमाला लगाएर स्वागत गरेका थिए । रात्रि सभामा सयौँ स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता र समर्थकहरू उपस्थिति रहेको थियो ।